काठमाडौं। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमणको जोखिमका बीच स्वास्थ्य प्रोटोकलको पालना गर्दै संसदको हिउँदे अधिवेशन सञ्चालन हुने बताएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार आयोजित १४औं संघीय संसद सेवा दिवस-२०७७ को मूल समारोहलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद अधिवेशन छिट्टै आह्वान हुने बताए।
कोरोना भाइरसको संक्रमण बढिरहे पनि स्वास्थ्य मापदण्डको पालना गरेर संसद बैठक सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए। उनले वर्खे अधिवेशनमा थुप्रै अनिश्चिता र चुनौतीका बीच सफलतापूर्वक सभा सञ्चालन गरेको अनुभव रहेकाले संसद चलाउन सहज हुने उनको धारणा छ। कोरोनाका कारण लामो समयको लकडाउन र त्यसले निम्त्याएको जोखिमले गर्दा कानुन निर्माणसमेत प्रभाव हुन पुगेको अध्यक्ष तिमिल्सिनाले बताए।
कोरोनाको सुरूवाती चरणमा संसद बैठक मात्रै नभई संसदीय समितिका बैठकसमेत रोक्नुपरेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले अब सबैले स्वास्थ्य मापदण्डको पालना गरेर अगाडि बढ्नुपर्ने बताए। कोरोना न्यूनिकरण र नियन्त्रणमा सरकारसँगै सबै तहका जनप्रतिनिधि र जनताले आ-आफ्नो दायित्व पुरा गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको धारणा छ। उक्त अवसरमा उनले संसद सेवामा कार्यरत कर्मचारीलाई यस सेवाप्रति गर्व गर्नसक्ने गरी काममा खट्न आग्रह गरे।



लोकपाटी न्यूज

