काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको बताएका छन्। १४ औँ संघीय संसद् सेवा दिवसको अवसरमा सभामुखले बाध्यात्मक व्यवस्थाअनुसार संसद् अधिवेशन आह्वान हुनेतर्फ संकेत गर्दै त्यसका लागि तयार रहेको बताएका हुन्।
सभामुख सापकोटाले अबको अधिवेशन नयाँ ढङ्गले क्रमभंग गरेर चलाउनुपर्ने बताए। ‘हामी विधेयक अधिवेशनको तयारी गर्दै छौं। अब पुस १७-१८ गते बेलाउनै पर्ने संवैधानिक बाध्यता छ’, उनले भने, ‘त्यो माथि अलि नयाँ ढङ्गले चलाउनुपर्छ। हामीले संवैधानिक क्रमभंग गरेरै संसद् बोलाउनुपर्छ।’
कोभिड-१९ को संक्रमणका कारण संसद् अधिवेशन प्रभावित हुन नदिन पनि संसद् सचिवालयले विशेष तयारी गरिरहेको सभामुख सापकोटाले बताए। उनले परम्परागत रूपमा संसद् चलाउन सम्भव नभएकोले केही रूपान्तरण गर्नुपर्ने संकेत गरे।
‘नयाँ ढङ्गले संविधान कार्यान्वयन गर्ने हो। अहिले अलि परम्परागत, औपचारिक ढङ्गले चलिरहेका छौँ जस्तो लाग्छ। संविधान संशोधनको बाटो खुला छ। रूपान्तरण यहाँबाट सुरु गर्न सकिन्छ। राम्रो कामका लागि हामीले रूपान्तरण गर्न सकिन्छ,’ सभामुखले भने।
कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले संघीय संसद् सेवामा रहेका कर्मचारीहरूको कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका रहेको बताइन्। संघ प्रदेश र स्थानीय तहमा निर्माण हुने कानूनहरुका लागि समन्वय गर्न पनि संसद् सचिवालयका कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण भएको उनले बताइन्।
संघीय संसद् सचिवालयले विभिन्न कार्यक्रम आयोजना गरी ‘१४ औँ संघीय संसद् सेवा दिवस-२०७७’ मनाएको हो। २०५८ मंसिर २८ गते संसद् सेवालाई निजामती सेवाबाट अलग गरी संसद् सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गते देखि संसद् सेवा दिवस मनाइँदै आएको छ। २०५८ देखि २०६३ को बिचमा संसद् नै नरहेकाले दिवस मनाइएको थिएन।



लोकपाटी न्यूज

