काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने संकल्पलाई दृढताका साथ लागू गरेको बताएका छन्। बुधबार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार बहुआयामिक विषय भएकाले सामाजिक रुपमा नै यसको निन्दा र भत्र्सना आवश्यक रहेको बताएका हुन्।
ओलीले सन्देशमा भनेका छन्, ‘हामी सबैलाई थाहा भएकै कुरा हो कि भ्रष्टाचार एक बहुआयामिक विषय हो। भ्रष्टाचार एक जना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव हुँदैन। भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भत्र्सना गर्नु जरुरी हुन्छ।’
भ्रष्टा,चारलाई आर्थिक अपराधका रुपमा मात्रै हेर्न नहुने पनि प्रधानमन्त्री ओलीले बताएका छन्। उनले भ्रष्टाचारले यसले सामाजिक मूल्य मान्यताहरु उपर सिधा प्रहार गर्ने, प्रजातान्त्रिक संस्थाहरुलाई ध्वस्त पार्ने बताएका छन्। उनले भनेका छन्, ‘राजनीतिक स्थायित्व हुन दिँदैन, विकासको गतिलाई अवरोध गर्छ र अन्ततोगत्वा राजनीतिक प्रणालीमा नै प्रहार गर्छ। यति मात्र होइन, पछिल्ला दिनहरुमा भ्रष्टाचारजन्य सम्पत्ति विदेशमा र्पुयाउने, त्यसलाई अपराधजन्य कार्यहरुमा लगानी गर्ने र अन्तर्राष्ट्रिय शान्ति र सुव्यवस्था उपर नै आक्रमण गर्ने जोखिमसमेत देखिएको छ।’
त्यस्तै वर्तमान सरकार भ्रष्टाचारलाई कडाइका साथ प्रभावकारी रुपमा नियन्त्रण नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल हुनसक्दैन भन्ने कुरामा स्पष्ट रहेको प्रधानमन्त्रीले बताएका छन्। त्यसैले नेपाल सरकार भ्रष्टाचार नियन्त्रणका लागि सबै किसिमका नीतिगत, कानूनी र संस्थागत प्रबन्ध गर्ने कुरामा प्रतिबद्ध र क्रियाशील रहिआएको पनि प्रधानमन्त्रीले दाबी गरेका छन्।



लोकपाटी न्यूज

