एजेन्सी। अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोन्टेकले कोरोना भाइरस (कोभिड १९) विरुद्ध निर्माण गरेको भ्याक्सिनलाई अमेरिकाले पनि प्रयोगका लागि अनुमति दिएको छ। यससम्बन्धी निर्णय गर्ने खाद्य र औषधिसम्बन्धी प्रशासन (एफडिए) ले शुक्रबार भ्याक्सिनलाई देशभित्र आपत्कालिन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो।
राष्ट्रपति ट्रम्पले चाडै नै अमेरिकामा पनि आमनागरिकका लागि भ्याक्सिन लगाउन सुरु गरिने जनाएका छन्। अमेरिकामा कोरोना भाइरस संक्रमणबाट दुई लाख ९२ हजारभन्दा बढीको ज्यान गइसकेको छ। स्वास्थ्य र मानव सेवासम्बन्धी सचिव एलेक्स अजरले अमेरिकामा चाडै नै सर्वसाधारणका लागि भ्याक्सिन लगाउन सुरु गर्ने बारे फाइजरसँग छलफल गर्ने बताएका छन्।
अमेरिकाको सबै राज्यमा भ्याक्सिन वितरण गर्ने कार्यक्रम ‘अपरेसन वार्प स्पिड’ तय गरिएको छ। आपत्कालिन प्रयोगका लागि मान्यता दिएसँगै एफडिएले त्यसबारे ‘अपरेसन वार्प स्पिड’लाई जानकारी गराइसकेको छ। उनका अनुसार सोमबार वा मंगलबारबाटै सर्वसाधारणका लागि भ्याक्सिन लगाउन सुरु गरिने तयारी अमेरिकाको छ। त्यससँगै ‘अपरेसन वार्प स्पिड’ले २४ घण्टा भित्रै भ्यासिनको ढुवानी सुरु गरिने जनाएको छ।
फाइजरले अमेरिकाका लागि डिसेम्बरको अन्त्यसम्म ६४ लाख डोज भ्याक्सिन उपलब्ध गराउने तयारी गरेको जनाएको छ। यो भ्याक्सिन पनि दुई चरणमा लगाउनु पर्ने छ। पहिलो डोज लगाएको २१ दिनपछि दोस्रो डोज लगाइने छ। अमेरिकाले फाइजरले पहिलो चरणमा उपलब्ध गराउने भनेको ६४ लाख डोज भ्याक्सिनले ३० लाख जनसंख्यालाई पुग्ने जनाएको छ। बाँकी व्यक्तिका लागि थप भ्याक्सिन उपलब्ध हुने छन्। अमेरिकाको जनसंख्या तीस करोड भन्दा बढी छ।
अमेरिकी राज्यहरूले पनि पहिलो चरणमा स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई प्रायमितामा राखेर भ्याक्सिन वितरण गर्ने तयारी गरिएका छन्। यो भ्याक्सिनलाई बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियाले आपत्कालिन प्रयोगका लागि अनुमति दिइसकेको छ। बेलायतले त सर्वसाधारणका लागि समेत भ्याक्सिन लगाउन सुरु गरिसकेको छ। अमेरिकामा गएको बुधबार मात्रै कोरोना भाइरस संक्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको थियो। यो विश्वको कुनै पनि देशमा अहिलेसम्म एकै दिनमा भएको सर्वाधिक मृत्यु संख्या हो।



लोकपाटी न्यूज

