आज १० डेसेम्वर २०२०, ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले
“मानव अधिकारको विश्वव्यापी घोषणापत्र” पारित गरेको ऐतिहासक दिवसको सम्झनास्वरुप हरेक वर्षको १० डिसेम्वरमा विश्वभरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ। यो वर्षको अन्तर्राष्ट्रिय नारा Recover Better – Stand Up for Human Rights रहेको रहेको छ।
यो दिवसले सबैको आधारभूत मानव अधिकारको आवाज उठाउन र न्याय, सम्मानित र सुरक्षित जीवन बाँच्नका लागि चाहिने सम्पूर्ण आधारभूत आवश्यक मानव अधिकारको अर्थपूर्ण प्रत्याभूति गराउन केन्द्रित हुनुपर्छ। यसका लागि विशेषत संघिय, प्रदेशिय र स्थानीय सरकारका पत्येक अङ्ग र सामाजिक संघसंस्था, समुदाय, राजनीतिक दल, नागरिक समाज र सम्बन्धित सबै क्षेत्रबाट आ–आफनो जिम्मेवारी र भूमिका खेल्न प्रतिबद्ध र जवाफदेही
हुन जरूरी छ।
विशेषत विश्वलाई नै त्रसित बनाइरहेको कोभिड १९ को महामारीका कारण विश्वभरीका मानिसहरुलाई मानव अधिकारको बिभिन्न आधारशीलाहरुमा असर पारेको छ। यस अवधिमा कोभिडको प्रकोपलाई न्यूनीकरण गर्न राज्यले अपनाएका आकस्मिक प्रावधानहरु अथवा बन्दाबन्दीका कारणले जनजीवन अस्तव्यस्त हुनुका साथै न्यूनतम मानव अधिकारबाट बन्चित बनाएको छ।
यसै अवधिमा हत्या, हिंसा, दुव्र्यावहार मानव बेचबिखन तथा थुप्रै किसिमका अपराधिक गतिविधिहरु भएका छन्। यो दिवसले राज्यका यस्ता अपराधिक गतिविधिहरुलाई सम्बोधन गर्दै सबैको न्यूनतम मानव अधिकार प्रत्याभूत गर्न केन्द्रित रहनुपर्छ। फेरी आज २५ नोभेम्वरदेखि शुरु भएको १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानको अन्तिम दिन पनि हो। अन्तर्राष्ट्रिय रुपमा विश्वका धेरै देशहरुमा १६ दिनसम्म मनाइने यो अभियानको मुख्य उद्देश्य महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्नु हो।
लैङ्गिक हिंसा विरुद्ध जनचेतना जगाउने र महिला विरुद्ध हुने हिंसाको प्रभावलाई कम गर्ने साथै महिला अधिकारका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई संस्थागत गरी व्यवहारमा कार्यन्वयन गर्ने, गराउने र सबै क्षेत्रका महिला पुरुषबीच ऐक्यवद्धताका लागि वातावरण बनाउने रहेका छ्न्। यसका साथै महिलामाथि हुने हिंसा अन्त्यका लागि कानुनमा सुधार र बनेका कानुनको उचित कार्यन्वयनका लागि पैरवी गर्ने,सामाजिक कुरीरित तथा व्यवहार, सोचाइ र मनोवृतिमा परिवर्तन ल्याउन सहायता गर्ने आदि प्रमुख उद्देश्य रहेका छन्। १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानको अवधिमा घटेका केही घटनाहरु माथि उल्लेख गरेअनुसार मानव अधिकार दिवस १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानको अन्तिम दिन हो। २५ नोभेम्वरदेखि १० डिसेम्वरको अवधिलाई अन्तर्राष्ट्रिय रुपमा मनाइने अभियान नेपालमा वि.स. २०५४ सालदेखि मनाउदै आएको पाइन्छ।
नेपाल सरकारको मन्त्रिपरिषदको गत वर्षको बैठकले प्रत्येक वर्ष नोभेम्वर २५ तारिखलाई लैङ्गिक हिंसा विरुद्धको अभियान दिवसको रुपमा मनाउने निर्णय गरे बमोजिम गत वर्षदेखि नै सामाजिक सचेतना सहित लैङ्गिक हिंसा बिरुद्धको अभियान संचालन गर्न सातै वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह एवं सबै वडा, सरोकारवाला निकाय, विद्यालय, तथा सामाजिक संघ संस्थाहरुलाई आव्हान गर्ने निर्णय गरेको थियो। सरकारले यस वर्ष पनि सोही अभियानलाई निरन्तरता दिएको छ।
यो बर्षको १६ दिने अभियानकैक्रममा भएका हिंसा तथा अपराधिक घटनाहरुलाई संचार माध्यमले सम्प्रेषण गरेका छन्। संचार माध्यममा प्रसारित समचारमा दुई वर्षीय बालिकादेखि ७१ वर्षीय बृद्धसम्म हिंसा र बलात्कारका शिकार बनेका छन् भने आफ्नै आमाबुबाको हत्या गर्ने र आफ्नै छोरीलाई बलात्कार गर्ने जस्ता अपराधिक घटना समेत भएका छन्। यहाँ यस १६ दिने अवधिमा घटेका बिभन्नि संचार माध्यममा प्रसारण भएका केही लैङ्गिक हिंसा, बलात्कार र हत्या जस्ता घटनाहरुको सार प्रस्तुत गरिएको छ।
घटना नं. १
यही मंसिर १२ गते शुक्रवार सप्तरी तिरहु गाउँपालिकाकी ७६ वर्षीय लक्ष्मी महतोले ७ वर्षीय बालिकालाई यौन दुव्र्यावहार गरेको समचार सम्प्रेषण भएको थियो । स्थानी बालिकालाई खिरखान भनी बोलाएर आफ्नो कोठामा लगी बालिकको लुगा खोली संवेदनशील अंगहरु चलाएर यौन दुव्र्यावहार गरेका थिए । ती महतोले ५ वर्ष अघि पनि गाउँकी एक बालिकालाई यौन दुव्यवहार गर्दा गाउँका पञ्चायतले ६ सय रुपियाँको जरिवाना गराएर उन्मुक्त दिदाको परिणामले अर्की बालिका दुव्र्यावहारको शिकार बन्नु प¥यो । यसले कात्तिक ७ गते बलात्कार पछि हत्या गरिएकी बझाङ्गकी १२ वर्षीय सम्झना कामीको झझल्को दियो। किनकि ती सम्झनालाई बलात्कार गरी हत्या गर्ने अपराधिले केही दिन अघि एक १४ वर्षीय बालिकालाई बलात्कार गर्दा पाँचसय रुपियाँको जरिवाना गराएर गाउँमै मिलाइएको थियो । यसैको परिणाम स्वरुप सम्झनाले त्यो नियति भोग्नु प¥यो।
घटना नं २
वैतडी सिगास गाउँपालिका ३ का २३ वर्षीय दिपक सिंह धामीले १८ वर्षीय किशोरीलाई पँधेराबाट पानी लिएर आउँदैगर्दा
नजिकको जङ्गलमा लगी बलात्कार गरेका थिए । सो बलत्कार पछि गर्भवती भएकी किशोरीको गर्भ पतन गराइ सो
अपराधिक घटनालाई मिलाउन पीडितलाई एक तोेलाको सिक्री दिने गरी तमसुक गरिएको १३ मंसिरमा तथ्य खुलेको
समचार सम्प्रेषण भएको थियो।
घटना नं. ३
यही २०७७ साल मंसिर ७ गते आइतवारदेखि हराएकी महोत्ततरी बर्दिबास १४ का शहिद आलमकी ६ वर्षीय छोरी गुलाब
साह खातुनको शव मंसिर ८ गते सोमवार बोरामा हालेर झाडीमा फालेको अवस्थामा भेटिएको विभत्स अवस्थाले
आक्ररोसित भएको स्थानीय समुदायको भिडलाई नियन्त्रण गर्न प्रहरीले हानेको गोलीले स्थानीय सन्जय न्यौपानेले ज्यान गुमाउनु प¥यो । २०७५ श्रावण १० गते कञ्चनपुरकी तेह्र वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा उत्रेको जनसागरमा राज्यबाट गरिएको दमनका कारण एक जना बालकले ज्यान गुमाएका थिए।
घटना नं. ४
गत असोज ७ गते बलात्कारपछि हत्या गरिएका १२ वर्षीय सम्झना कामीका दुई बहिनीहरु सामन्य हुन सकिरहेको छैन भने उनीहरुका हजुरआमा र हजुरबुबाको ह्ृदय जलिरहेकोछ । यसक्रममा अपराधीको आफन्तले दिएको डर र धम्कीले त्यो परिवार अपराधी छुटेर हामीलाई सताउँछ कि वा अर्को यस्तै घटना घटाउने होकी भन्ने कुरामा चिन्तित भएका छन्।
घटना नं. ५
गोर्खा नगरपालिका ८ का ६५ वर्षीय तुलबहादुर थापाले निउरो टिप्न जङ्गगल गएकी स्थानीय १४ वर्षीय बालिकालाई
बलात्कार गरेपछि गर्भ रहन गएको र ती बालिका बिचल्लीमा परेको समचार सम्प्रेषण भएकोछ ।
घटना नं. ६
तिलोत्तमा नगरपालिका १०, रुपन्देहीकी ८ वर्षीय बालिकामाथि गत वैशाखमा यातनासहित जबरजस्ती करणी मात्र भएन, उनलाई स्थानीय युवले ती बालिकको योनीमा कोदालाको वींडसमेत घुसार्दा बालिकाको योनी च्यातियर अहिले उनको पेटमा पाइप राखेर दिसापिसाब गराइएको छ भन्ने समचार सम्पे्रषण भएको छ। हालसम्म पनि यस्तो जगन्य अपराधको नत कुनै मुद्दाको फैसला भयो नत त्यो गरीब परिवारले कुनै क्षतिपूर्ति पाएकोछ।
घटना नं. ७
यही मंसिर ९ गते मंगलवार राती १० वजेको समयमा पोखरा नगरपालिका १९ कास्कीका घनश्याम गिरीले ७१ वर्षीय
स्थानीय बृद्धालाई एक्लै घरमा बसेको अवस्थामा बलात्कारको प्रयाश गरेको आरोपमा पक्राउ परेको समचार बाहिर आएको छ।
घटना नं. ८
मंसिर १३ गते मोरङ्ग रंगेलीका २५ वर्षीय बौका भनिने सुरेन्द्र मण्डलले शारीरिक र मानसिक रुपमा फरक क्षमता भएकी स्थानीय युवतीलाई जबरजस्ती करणी गरेको समचार सम्प्रेषण भएको छ।
घटना नं. ९
२०७६ असार २९ गते साँझ सुरुङ्गा १ चाहका, सप्तरीकी ६४ वर्षीय आमा धनमाया पुलामीको खुकुरी प्रहार गरी हत्या
गर्ने उनीका ३४ वर्षीय छोरा जङ्गबहादुर पुलामीलाई अदालतले जन्मकैदको सजायको फैसला गरेको छ।
घटना नं. १०
यही मंसिर १६ गते बुधवार सिराहचोक ८ धन्सारका ४० वर्षीय भुवन ढकालले आफ्नै बुबा तुलारामलाई लाठीले हानी
गम्भीर घाइते बनाएपछि निजको प्राथामिक स्वास्थ्य केन्द्र जौवारीमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटना नं. ११
मंसिर ९ गतेदेखि हराएकी काठमाडौं चन्द्रागिरी नगरपालिका बस्ने १६ वर्षीय बालिका चारदिन पछि आफन्त नेपालको
पहलमा भारतको भोपाल बालकल्याण समिति र स्थानीय (भोपाल) प्रहरीको सहायतामा काडमाडौबाट करीब तेह्र सय
किलो मिटर टाडा भारतको मध्येप्रदेश राज्यको इन्दौर नजिकैको सिहोर भन्ने ठाउँबाट उद्धार गरिएको छ।
घटना नं. १२
मंसिर ९ गते मिर्चैया १० सिरहामा २३ वर्षीय महिलालाई झारफुक गर्ने बहानामा ३५ वर्षीय मुस्लिम धर्मगुरु मोहम्मद
अली हसनले बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको समचार प्रसारण भएको थियो।
घटना नं. १३
यही मंसिर १५ गते सोमवार गैर पर्यटकीय भिसामा नेपालमा बसिरहेका ६० वर्षीय फ्रान्सेली नागरिक क्रिष्टियन सर्ज हेनरी नौगोटलाई पोखरा १२ का आठ वर्षीय तीन बालकहरुलाई यौन दुराचार गरिरहेको अवस्थामा पक्राउ गरेका समचार
सम्प्रेषण भएको छ।
घटना नं. १४
डडेल्धुरा परशुराम नगरपालिका ग्वानीका रमेश र शुक्लाफाँट नगरपालिकाकी ताराको फेसबुकबाट प्रेम बसेपछि उनीहरुले गत वर्षको फागुनमा भागी विवाह गरे। ताराको गर्भ रहेपछि उनको मन्जुरी बिना जवरजस्ती असुरक्षित गर्भपतन गराइयो। त्यसपछि रक्तस्रावले उनीलाई निकै थलायो। उनी निको भएपछि रमेशले तारालाई माइतीमा ल्याएर छोडी सम्पर्क विहिन भएपछि तारा घर न घाटको भइन भन्ने समचार बाहिरिएको छ।
घटना नं. १५
लैङ्गिक हिंसा विरुद्धको अभियानकै क्रममा जनप्रतिनिधिले नै घरमा दुईजना श्रीमती हुँदाहुँदै अर्काकी श्रीमतीलाई तेस्रो
श्रीमतीको रुपमा भित्राएको दुःखद समचार सम्प्रेषण भएको छ। प्रहरीले बहुविवाहको आरोपमा सल्यान, वनगाड कुपिण्ड नगरपालिक ९ का वडाअध्यक्ष इन्द्रबहादुर कुमाईलाई पक्राउ गरेको छ।
घटना नं. १६
मकवानपुर मनहरी २ मा दुई वर्षीय बालिकालाई स्थानीय १९ वर्षीय हरिशरण गिरीले जबरजस्ती करणी गरेका छन् ।गिरीले चकलेट दिन्छु भनी फकाएर जबरजस्ती करणी गरेकोे अभियोगमा उसलाई प्रहरीले पक्राउ गरेको जनाइएकोछ।
घटना नं. १७
ओखलढङ्गा जिल्ला चम्पादेवी २ का २९ वर्षीय वीरबहादुर मगरबाट बलात्कृत १४ वर्षीय बालिकाले यही मंसिर १३ गते
बच्चा जन्माएको र बलात्कार गर्ने मगरलाई प्रहरीले नियन्त्रणमा लिएको समचार सम्पे्रषण भएकोछ ।
घटना नं. १८
लमजुङ्ग जिल्ला बेँसीसहर ३ मगरपात्लेकी ३२ वर्षीय सन्तुमाया मजाकोटी स्थानीय ४९ वर्षीय बुद्धिबहादुर बसेल र उनकै १९ वर्षीय छोरा विशाल बसेलद्धारा कुटिएकी छन्। बाबुछोरा मिलेर ज्यानै लिने गरी कुटिएकी ती महिलाको स्वस्थ्य परीक्षण भइरहेको जनाइएको छ।
घटना नं. १९
मंसिर २० गते काठमाडौं महानगरपालिका २१ मा डेरा गरी बस्ने ५० वषीर्य बद्रीबहादुर धितालले आफ्नी श्रीमतीको
पहिलो श्रीमान् पटिको ९ वर्षीय छोरीलाई बलात्कार गरेको जनाइएको छ।
घटना नं. २०
म्याग्दीे मालिका गाउँपालिका १ निस्कोट जुवाङकी एक महिला काखेबालक र एक छोरीलाई छोडेर दोस्रो विवाह गरिन्।
वैदेशिक रोजगारीमा रहेकै अवस्थामा श्रीमती अर्कैसँग विवाह गरेर गएपछि बिचल्ली परेका छोराछोरी समाल्न आएका
चित्रबहादुर पुन घर फर्केको केही महिनामै दुबै मृगौलामा खराबी आइपछि अर्को पीडा थपिएसँगै ती दूधेबालक र छोरी
सहारा विहिन भएका छन्।
घटना नं. २१
यही मंसिर १६ गते बैतडी, दोगडाकेदार ६ सित्तडकी १६ वर्षीय बालिकालाई स्थानीय १७ वर्षीय किशोरले आफ्नै घरमा
लगेर बलात्कार गरेका छन्। यसैगरी सिगास गाउँपालिका ३ का वडाअध्यक्ष सहितको स्थानीय व्यक्तिहरुले किशोरी
बलात्कार गरेको घटनालाई गाउँमै मिलापत्र गराएको समचार बाहिरिएको र उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाइएको
छ।
घटना नं. २२
आफनै महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीको एकल इजलासले एकतर्फी वहस गरी अभियुक्तलाई सफाइ दिइएको समचार सम्प्रेषण भएको थियो। सरकारी वकिल र पीडित पक्षको अनुपस्थितिमा प्रतिवादीको एकतर्फी वहस पछि अभियुक्तलाई सफाइ दिइएकोमा सरकारी वकिलको कार्यालयले असन्तुष्टि व्यक्त गरेको समचार पनि बाहिरिएको छ। यसबाट पीडित पक्षलाई अन्याय हुनुको साथै असुरक्षित हुने र अपराधिक गतिविधले प्रसय पाउने र थप घटना घट्ने सम्भावना रहन्छ।
घटना नं. २३
सप्तरीको शम्भुनाथ १ साह टोलकी ३५ वर्षीय सुमिन्द्रादेवी रामलाई बोक्सीको आरोपमा स्थानीय महिलाले कुटेका छन्।
निर्मम कुटाइबाट उनको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेपछि उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएको जनाइएको छ।
घटना नं. २४
कास्की पोखरा महानगरपालिका जाल्पा रोडस्थित खाजाघर सञ्चालन गर्दै आएका ३४ वर्षीय केशब भुजेलले महिलाहरुलाई काममा (जागिरमा) लगाउने भन्दै जबरजस्ती यौनधन्दामा लगाएको आरोपमा पक्राउ परेका छन्।
घटना नं. २५
प्रहरी निरिक्षक धु्रव शर्मासँग गत असारमा विवाह गरेकी वेनीकी स्मृति शर्माले श्रीमानबाट पीडित भएको भन्दै न्यायका लागि अपिल गरेकी छन्। स्मृतिले विवाह अघि रहेको गर्भलाई पतन गराउन बाद्धे बनाएको, सम्बन्ध बिच्छेदका लागि मानसिक यातना दिएको र सरुवा भएपछि आफूलाई अलपत्र छाडेर सम्पर्क बिहिन भएको आरोप लगाएको समचार संचार माध्यममा प्रसारण भएको छ।
घटना नं. २६
यही मंसिर १९ गते दिउसो घरमा कोही नभएको समयमा दैलेखका ३८ वर्षीय बुबाले १४ वर्षीय छोरीलाई ललाईफकाई
बलात्कार गरेका छन् । बलात्कार गर्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको समचार छ।
घटना नं. २७
यही मंसिरको दोस्रो हप्ता भरतपुर महानगरको घरजग्गा र लामो समयदेखि कतारबाट श्रीमानले पठाएको पैसा लिएर
श्रीमती पराई पुरुषसँग हिडेपछि कतारमा रहेका श्रीमानले आत्महत्या गरे। छोरालाई दिदीको घरमा छोडेर परपुरुषसँग
हिडेकी श्रीमतीले अश्लील गाली र मानसिक तनाव दिएर आत्महत्या गर्न दुरुत्साहन गरेको र घरजग्गा बेचेर ठगी गरेको भनी प्रहरीमा उजुरी गर्दा प्रहरीले सो उजुरी लिन नमानेको भन्ने समचार सम्प्रेषण भएकोछ । कानुनी व्यवस्था हेर्दा मुलुकी अपराध संहिता २०७४ दफा १८५ मा आत्महत्या दुरुत्साहन दिन नहुने कानुनी व्यवस्था अनुसार ‘कसैले कसैलाई
आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थति खडा गर्न वा गराउन हुँदैन’ भन्ने व्यवस्था छ।
घटना नं. २८
मंसिर २१ गते आइतवार विद्यालय गएकी रसुवा जिल्ला कालिका गाउँपालिका १ फैलिगाङकी ६ वर्षीय बालिका सुमिना
तामाङलाई अपहरण पछि हत्या भएपछि कहिल्यै घर नफर्किने गरी अस्ताइन। ह्दय नभएका निर्दयी हातहरुले उनीको हत्य गरिदिए। कालिका गाउँपालिका १ पलेपस्थित नागुदुङ भीरको ढुङ्गाको ओडारमा सुक्न लागेको बिलाउनेको सेउलाले छोपेको अवस्थामा बालिकाको शव भेटिएको दुःखद समचार प्रसारण भएको छ।
घटना नं. २९
मंसिर २३ गते पाल्पाको बगनासकाली स्वास्थ्य चौकी नजिकैको खोल्सामा फालिएको अवस्थामा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ। अनुसन्धान गर्नेक्रममा उक्त नवजात शिशुलाई तानसेन नगरपालिका १४ घर भइ बगनासकाली गाउँपालिका ३ स्थित माईती घरमा बस्दै आएकी २६ वर्षीय हुमा कुमारी दर्जीले फालेको खुल्न आएको समचार संचार माध्यममा प्रसारण भएको छ।
घटना नं. ३०
झापा, बिर्तामोड कुन्जिबारी अब्जर्भेसन पोष्ट अन्तर्गत गौरीगन्ज –२ का कोरोबारी स्थित सीमासुरक्षामा खटिएका सशस्त्र प्रहरी सहायक निरिक्षक सूर्य कटुवालले स्थानीय १२ वर्षीय सीमान्तकृत समुदायकी बालिकालाई जवरजस्ती करणी गर्ने प्रयाश गरेका थिए। मंसिर २१ ग्ते आइतवार राती साढे ९ बजेतिर घरमा सुत्न लागेको बेलामा कटुवालले घरभित्र प्रवेश गरी बालिकालाई जबरजस्ती गर्न खोजेपछि बालिका चिच्याएको सुनेर तत्कालै बालिकाको आमा आइन र असइ कटुवाललाई कपडामा समातेर बाहिर तानेकी थिइन। त्यसपछि कटुवाल त्यहाँबाट भागेको समचार प्रसारण भएको छ।
घटना नं. ३१
काठमाडौंको खुलामंचमा मंसिर १२ गते मध्यराती तेस्रो लिङ्गी सागर केसी उर्फ शारदाले २६ वर्षीय युवतीलाई बलात्कार
गरेको समचार प्रसारण भएको छ । आरोपित शारदालाई पक्राउ गरेको छ।
घटना नं. ३२
आफ्नै श्रीमती आरती साहलाई एसिड छर्केर घाइते बनाएका जनकपुरधाम उपमहानगरपालिका ७ का सन्जिव साहका
विरुद्ध सरकारी वकिल कार्यालय धनुषाले जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ।
देश व्यापीरुपमा संचालित १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानका क्रममा केही सकरात्मक कुराहरु पनि भएका छन्। जस्तै, भरखरै मन्त्रिपरिषदको बैठकले मुलुकी अपराध संहिता, मुलुकी अपराध कार्यविधि र ज्येष्ठ नागरिक ऐनमा रहेका बलात्कार सम्बन्धी व्यवस्था परिमार्जन ल्याएको अध्यादेशमा अरु थप प्रावधान सहित यस अघि ‘महिला तथा बालबालिका’ माथि बलात्कार भन्ने शब्द कानुनमा रहेकोले अबदेखि ‘व्यक्ति’ भन्ने शब्द राखिएको छ।
त्यसै गरी सरकारले बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई समेत कारबाही गर्ने व्यवस्थ गर्ने अध्यादेश ल्याएको छ। यस अनुसार यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यस्था गरिएको छ र सो अनुसार राष्ट्रपतिबाट प्रमाणित समेत भएको छ।
यस्ता कानुनी प्रावधानहरुलाई उचित रुपमा कार्यन्वय गर्ने गराउने दायित्व पनि राज्यले जिम्मेवारी र जवाफदेहिताका साथ लिन आवश्यक छ। त्यस्तै बिगतमा भएका केही अपराधिक घटनाहरुका दोषीमाथि कानुनी कारवाही गर्ने फैसला पनि भएका छन् जस्तै, २०७६ साल असार १९ गते साँझ सप्तरी सुरुङ्गा नगरपाललिका १ चहकाकी ६४ वर्षीय धनमाया पुलामीलाई खुकुरी प्रयोग गरी हत्या गर्ने उनीका ३४ वर्षीय आफ्नै छोरा रिठ्ठे भनिने जंगबहादुर पुलामीलाई जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएको छ। त्यसै गरी २०७५ माघ ७ गते दरवारमार्गस्थित होटेल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कारको घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष र सात लाख क्षतिपूर्ति दिनुपर्ने उच्च अदालत पाटनले फैसला गरेको छ।
सल्यान, शारदा नगरपालिका १ श्रीनगर निवासी ६० वर्षीय महिलालाई बोक्सीको आरोप लगाएर दुव्र्यावहार गर्ने आरोपमा तीनजनालाई यही मंसिर २१ ग्ते जिल्ला अदालतले कैद सजायको फैसला गरेको छ। यस अवधिमा यस्ता केही सकरात्मक कुराहरु भएपनि अभियानले जुन उद्देश्यका साथ देशको कुनाकाप्चा र दुरदराजसम्म लैङ्गिक हिंसाविरुद्धका आवाजहरु बुलन्द गर्दै हत्या, हिंसा, कुटपिट र आरोपहरुको न्यूनीकरण गर्न प्रयास गर्नुपर्ने थियो त्यो अपेक्षाकृत हुन सकेन।
यो अवधिमा हरेक वर्षजस्तै देशमा थुप्रै अपराधिक दुःखदायी घटनाहरु घटे। कतिपय घटनाहरुमा रक्षक नै भक्षक भए अथवा सुरक्षाकर्मीदेखि जिम्मेवार जनप्रतिनिधि समेतले पीडकको विल्ला भिरेका छन् भन्ने कुरा माथि उल्लेखित घटनाक्रमहरुले प्रमाणित गर्दछन्। विशेषत राज्यले यसलाई राम्ररी मूल्याङ्क गरी यस्ता गतिविधिहरुको न्यूनीकरणका लागि विशेष ध्यान दिन आवश्यक छ।



लोकपाटी न्यूज

