काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्वार्थका लागि ज्यानै लिने काम स्वीकार्य नहुने बताएका छन्।
हरेक वर्ष १० डिसेम्बरमा मनाइने विश्व मानव अधिकार दिवसमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
आधुनिक सभ्य समाजमा आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न अरूको ज्यानै लिने वा राष्ट्रका विभिन्न साझा सम्पत्ति र संरचनाहरू ध्वस्त पार्नेजस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य हुन नसक्ने बताए। नागरिकको सुरक्षा र मर्यादापूर्वक बाँच्न पाउने हकलाई सरकारले सर्वोपरि महत्व दिने उनले बताए।
उनले स्वस्थ तथा सन्तुष्ट जीवन, सुरक्षित र सुविधा सम्पन्न आवास, भौतिक सुविधा र सम्पत्ति उपरको समतामूलक पहुँच, विभेद, हिंसा र अपराधमुक्त समाज मानव अधिकारका पूर्व सर्तहरु भएको उल्लेख गरेका छन्। यसै अवधारणाअनुरूप सरकारले ‘कोही भोकै पर्दैन र भोकले कोही मर्दैन’ भन्ने प्रतिवद्धता लिएको बताए।
नेपालले नागरिक तथा राजनीतिक अधिकार मात्र नभई प्रगतिशील रूपमा हासिल गरिने र अदालतबाट उपचार पाउन नसकिने भनी विश्वास गरिएका कतिपय आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरूलाई समेत मौलिक हककै रूपमा संवैधानिक प्रत्याभूति दिनुका साथै कानूनी उपचारको व्यवस्थासमेत गरेको उनले बताए।



लोकपाटी न्यूज

