काठमाडौं। पत्रकारहरूले अब जिल्ला हुलाक कार्यालयमार्फत् आवेदन दिएर प्रेस प्रतिनिधि प्रमाणपत्र लिन पाउने भएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जिल्ला हुलाक कार्यालयमार्फत् सूचना विभागमा पत्र पठाएर प्रमाणपत्र लिन पाइने व्यवस्था गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेसँगै यस्तो व्यवस्था मिलाइएको हो।
अब प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि जिल्ला हुलाक कार्यालयमा निवेदन दिन सकिने मन्त्रालयले जनाएको छ। त्यसकै आधारमा विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र प्रदान गर्ने छ।
यसअघि प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि विभागमै स्वयंम उपस्थित हुनुपर्ने बाध्यता थियो। सुशासन ऐन, २०६४ को दफा २२ को उपदफा ९१० मा आफूमा निहीत अधिकार आफू मातहतको पदाधिकारीलाई प्रत्यायोजन गर्न सक्ने उल्लेख गरिएको छ। सोही आधारमा मङ्सिर २२ मा मन्त्रीस्तरीय निर्णयबाट सबै जिल्ला हुलाकलाई अघिकार प्रत्यायोजन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डिल्लीराम शर्माका अनुसार प्रेस प्रतिनिधि प्रमाणपत्रसँगै अनलाइन नवीकरणका लागिसमेत हुलाकमै आवेदन दिन सकिने छ।




लोकपाटी न्यूज

