पत्रकार सूर्यप्रकाश कँडेलको ‘मोसो’ उपन्यास बजारमा

pic
लोकपाटी न्यूज

चितवन। पत्रकार सूर्यप्रकाश कँडेलको ‘मोसो’ उपन्यास विमोचन गरिएको छ। शनिबार नेपाल पत्रकार महासंघ चितवन शाखाको सभा हलमा पत्रकार कँडेलको ‘मोसो’ उपन्यास विमोचन गरिएको हो। पत्रकार कँडेलको ‘मोसो’ उपन्यास युरेका पब्लिकेसेन्सले बजारमा ल्याएको हो।

उपन्यास आफैँमा एउटा बेग्लै संसार हो, विभिन्न पात्र, परिवेश, घटना, वेदना, आक्रोश, द्वन्द्व, कौतुहलता हुने उनले बताए। मोसोमा यी सबै कुरा भएकोले एउटा ठूलो सामाजिक सन्देश दिने उनको विश्वास छ। उनले भने पत्रकार भन्दैमा सबै दूधले नुहाएका नहुने पत्रकारिताको आवरणमा गलत हुने भएकाले ‘मोसो’ उपन्यासबाट सो सन्देश खोजेको उनको भनाइ छ।

उनले भने ‘मोसो’ उपन्यासको कथावस्तु पत्रकारितासँग जोडिएको छ। पुस्तक दुई सय तीस पेजको रहेको र सो पुस्तकको मूल्य रु ३८५ भएको पत्रकार कँडेलले बताए। वि.सं २०५५ असोजमा चितवन सन्देश साप्ताहिकबाट पत्रकारिताको यात्रा शुरु गरेका कँडेल गहन समाचार र फिचर लेखनमा दख्खल राख्छन्। पत्रकार कँडेल चितवनमा रही पत्रकारितामा क्रियाशील छन्।

उनी नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति चितवनका सल्लाहकारसमेत हुन्। हाल उनी नागरिक दैनिकको चितवन संवाददाता र सफल खबर डट कमको समाचार सम्पादकका रुपमा कार्यरत छन्। यसअघि उनले १४ वर्षसम्म अन्नपूर्ण पोष्ट दैनिकको चितवन समाचारदाताको रुपमा रहेर काम गरेका थिए।

व्यस्त दैनिकीका बीच उपन्यास लेख्नका लागि समय मिलाउनु निकै चुनौतीपूर्ण रहेको भन्दै कँडेलले पुस्तक लेख्न तीन वर्ष लागेको बताए। उनको ‘मोसो’ उपन्यास पहिलो साहित्यिक कृति हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्