काठमाडौं। बालुवाटारमा सर्वदलीय बैठक सुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीहरुको उपस्थिति रहेको छ।
बालुवाटार स्रोतका अनुसार बैठकमा राजावादीहरुले गरेको पछिल्लो आन्दोलनका विषयमा छलफल हुने छ। राजावादीहरुले केही समय यता काठमाडौंसहित देशका मुख्य सहरहरुमा प्रदर्शन गर्दै आएका छन्।
आज (मंगलबार) नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न सर्वदलिय बैठक बोलाइएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो।
चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो। दुवै मुलुकमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ। यससँगै सर्वदलिय बैठकमा समसामयीक राजनीतिक विषयहरुमा छलफल हुनेछ।
गत बैशाख यता प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिएनन्। गत बैशाख ३१ गते भारतले नेपालको भूमि मिचेर सडक बनाएपछि छलफलका लागी संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग छलफल एवम् परामर्श गरेका थिए।



लोकपाटी न्यूज

