काठमाडौं। सगरमाथाको नयाँ उचाइ घोषणा हुँदैछ। मंगलबार एक समारोहका बीच सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम रहेको नापी विभागका महानिर्देशक सुशील नरसिंह राजभण्डारीले जानकारी दिए। अपरान्ह १ः ४५ बजे सो घोषणाको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्दैछ।
यस अगाडि भएको सहमति अनुसार नेपाल र चीनले सगरमाथाको संयुक्त उचाइ घोषणा गर्नेछन्। सन् २००५ देखि नेपाल र चीनको बिचमा उचाइको विषयमा विवाद उत्पन्न भएको थियो।
तर हिउँको सतहलाई उचाइको आधार मान्नुपर्ने नेपालको प्रस्तावमा चीन सहमत भएको छ। यस अगाडि चीनले चट्टानलाई आधार मान्नुपर्ने बताउँदै आएको थियो।
गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको समयमा उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो। स्रोतका अनुसार सगरमाथाको उचाइमा केही वृद्धि भएको छ।हालसम्म सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई आधिकारिक मानिँदै आएको छ।



लोकपाटी न्यूज

