प्रधानमन्त्री ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दै

PM_KP_OLI
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ।प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समसामयिक राजनीतिका विषयमा छलफल गर्न’ भन्दै बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बालुवाटारमा बस्ने भएको छ।

प्रधानमन्त्री ओलीले मंगलबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बैठकमा बोलाएका हुन्। करीब सात महिनापछि सर्वदलीय बैठक बस्न लागेको हो। यसअघि नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको ३१ वैशाखमा सर्वदलीय बैठक बसेको थियो।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको संकट चुलिएका बेला प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्न लागेका हुन्। समसामयिक विषयमा भनेर बोलाइएको छलफलको विषय खुलाइएको छैन।

नेकपामा शक्ति संघर्ष चुलिएपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ओलीले गत असारमा संसदको बर्खे अधिवेशन हठात अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। आउँदो १८ पुसभित्र संसद अधिवेशन बोलाइसक्नुपर्ने संवैधानिक बाध्यता छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस मात्र होइन, नेकपाभित्रै समेत संसद अधिवेशन बोलाउनुपर्ने माग भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्