काठमाडौं। नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ। ०७२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको सो स्कुल भवनलाई आकर्षक ढंगले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ।
क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल, प्रखर कूटनीतिज्ञ र प्रशासक सरदार यदुनाथ खनाल, सरदार भीमबहादुर पाँडे, पिनाकीप्रसाद आचार्यलगायत नेपालको पहिलो प्रतिभावान् शिक्षित पुस्ताको अध्ययनको थलो थियो दरबार हाइस्कुल। यसबाट निस्केका प्रतिभाहरूले नै उतिवेला नेपालको आर्थिक, राजनीतिक र सामाजिक खाका कोर्नमा अग्रणी भूमिका निर्वाह गरेका हुन्।
त्यतिवेला नेपालमा यसको विकल्प थिएन, तर राणाशासनको अन्तिमतिर जुद्धोदय र पद्मोदयजस्ता विद्यालय खुल्न थाले। ००७ सालको परिवर्तनपछि नेपालभर नै शिक्षालयहरू विस्तार भए पनि लामो अवधिसम्म दरबार हाइस्कुलको आकर्षण कायमै थियो। विद्यालय व्यवस्थापनमा राज्यको ध्यान जान छाडेपछि यसको अवस्था कमजोर बन्दै गयो। व्यवस्थापन फितलो भयो, भवन जीर्ण भयो र यसप्रतिको आकर्षण घट्दै गयो।
पाँच वर्षअघिको गोरखा भूकम्पले यसलाई खण्डहरमा परिणत गरिदियो। अहिले प्रताप मल्लकालीन रानीपोखरी र जंगबहादुरकालीन दरबार हाइस्कुल दुवैको मुहार फेरिएको छ। अहिले ती सम्पदा झकिझकाउ देखिन्छन्। नेपाल सरकारले काठमाडौं उपत्यकाका महत्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको सो ऐतिहासिक स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन्।
नयाँ भवनमा प्रयोशालासमेतको सुविधा रहेको र अंग्रेजी माध्यममा पढाइ हुने गरेको छ। अहिले भानु माविका कक्षा ६, ७ र ८ मा विद्यार्थी संख्या निर्धारित संख्यामा पुगेको छ। काठमाडौं महानगरपालिका- २७ का वडा सदस्य परिवेशमान बज्राचार्यका अनुसार अब नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि उक्त कक्षामा स्थान नै छैन। विद्यालयमा प्रतिकक्षा ३६ जना बस्न मिल्ने गरी पूर्वाधार तयार गरिएको छ।
भवनको निर्माणसँगै भानु माविमा दुई सय ८७ र संस्कृत माविमा तीन सय गरी विद्यार्थी संख्या पाँच सय ८७ पुगेको छ। विद्यालय नवीनतम प्रविधिमैत्री भएका छन्। विद्यालय व्यवस्थापन समितिले शिक्षकलाई तालिम दिने कामसँगै विद्यालयको प्रचारप्रसारसमेत गरिरहेको छ। विश्वव्यापी कोभिड- १९ को जोखिमका कारण अहिले विद्यार्थीले घरबाटै इन्टरनेटको सहयोगमा अनलाइन कक्षा लिइरहेका छन्। पहिले दुई विद्यालयमा गरी कुल तीन सय विद्यार्थी थिए।
‘अहिले हरेक दिन नयाँ भर्नाका लागि अभिभावकसहित विद्यार्थी आउने गरेका छन्। यसरी नै आकर्षण बढ्ने हो भने आगामी शैक्षिक सत्रसम्ममा सबै कक्षाहरू भरिनेछन्,’ सदस्य बज्राचार्यले भने। भूकम्पका कारण पूर्ण रूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरूप पहिलेजस्तै देखिन्छ। नौ रोपनी जमिनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले छ जसमा ६० कक्षाकोठा छन्।
भवनको डिजाइन ‘चाइना एभिएसन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो। निर्माण व्यवस्थापक राजेन्द्र केसी निर्माण सुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सम्पन्न गरिएको बताउँछन्। पुनर्निर्मित विद्यालय भवनको शिलान्यास ०७५ साल साउन १८ गते गरिएको थियो। चीन सरकारको पूर्ण सहयोगमा निर्मित उक्त भवनको निर्माण चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले गरेको हो।
सुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो। लामो समयसम्म कामपा र पुरातत्व विभागबीच नक्सापासका विषयमा केही मतान्तर भएकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनर्निर्माणको काम सुरु भएको थियो। भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, दुई पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थित रूपले निर्माण गरिएका छन्।
कुल ८५ करोड ५९ लाखको लागतमा निर्माण गरिएको दरबार हाइस्कुलको कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ। गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निनिर्माणसँगै सो विद्यालय भवनको उद्घाटन गरेपछि दरबार हाइस्कुल पुनः सञ्चालनमा आए पनि कोरोना महामारीका कारण हालसम्म विद्यालय बन्द रहेको छ।
भानु माविका प्रधानाध्यापक अखिलेशप्रसाद आजाद आगामी दिनमा आधुनिक र सुविधासम्पन्न भौतिक संरचनाका साथै प्रयोगशालासमेत रहेकाले आशानुरूप विद्यार्थी आउने बताए। उनले आगामी शैक्षिक सत्रदेखि बालविकास कक्षा सञ्चालनका लागि समेत तयारी पूरा गरिएको जानकारी दिए।
नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कुल भूकम्पका कारण भत्किएपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो। अहिले उक्त टहराबाट नयाँ भवनमा सामान सार्ने काम भइरहेको छ। तत्कालीन राणा सरकारले वि.सं. १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलेकाले यसको नाम दरबार हाइस्कुल राखिएको थियो।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि वि.सं. १९१० असोज २७ गते नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कुल’ स्थापना गरेका थिए। राजामहाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको सो हाइस्कुलमा अंग्रेजी पढाउन बेलायतबाटै शिक्षक ल्याइएको इतिहासमा उल्लेख छ। वि.सं. १९३३ मा रणोद्वीपसिंह प्रधानमन्त्री भएपछि राणाका सेवामा खटिएका कर्मचारीका छोराछोरीले पनि त्यहाँ पढ्न पाउने व्यवस्था भएको थियो।
वि.सं. १९४२ मा रणोद्वीपको हत्यापछि वीरशमशेरले विद्यालयलाई जमलस्थित सेतो दरबारको ढोकानजिक सारेका थिए। वि.सं. १९५७ मा देवशमशेर प्रधानमन्त्री भएपछि दरबार हाइस्कुलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको हो। रासस



लोकपाटी न्यूज

