काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्। आफ्नै दलभित्रको किचलो उच्चतम स्तरमा पुगेका बेला ओलीले अकस्मात सर्बदलीय बैठक बोलाउन लागेका हुन्।
प्रधानमन्त्री ओलीले अहिलेको बदलिँदो परिस्थितिका बारेमा छलफल गर्नका सर्वदलीय बैठक बोलाउन लागेको बताइएको छ। प्रधानमन्त्री ओलीले एक दुई दिनमा सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागि नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ। संघीय संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी बैठक बोलाइएको बताइएको छ।
तर प्रधानमन्त्री ओलीले के विषयमा छलफल गर्नका लागि यो बैठक डाक्न लागेको भन्ने अझै यकिन भने हुन सकेको छैन। तर अहिलेको बदलिदो परिस्थिति र समसामयिक विषयमा छलफल हुने स्रातले जनाएको छ। खासगरी पछिल्ला दिनमा सडकमा देखिएको प्रदर्शनका विषयमा दलहरुको साझा धारणा बुझ्नका लागि बैठक डाकिन लागेको स्रोतको भनाई छ।
पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँदै आएका छन्। गत शनिबारमात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका थिए। नेकपाको स्थायी समिति बैठकमा समेत यसबारे प्रभावशाली नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गरेका थिए।



लोकपाटी न्यूज

