महाभारतमा दुर्योधन : नेकपामा ओली

kp sharma oli-22
लोकपाटी न्यूज

नेतृत्वमा रहेको नेताले आफूलाई सर्वशक्तिमान ठान्नु कुनै नौलो कुरा होइन। यसरी गम्भिर हुने नेताले साच्चै साहसी र निष्पक्ष नेतृत्व दिएर देशलाई नयाँ स्वरुपमा प्रस्तुत गर्न सक्छ। यस अर्थमा आधुनिक युगका नाम चलेका नेतृत्वमा लि क्वान यु सिंगापुर, पार्कचुंङ ही दक्षिण कोरिया, महाथिर मलेसियाले देशको स्वरुप बदल्न साहसिक भूमिका खेलेका उदाहरण पनि छन्। मार्क्सवादको प्रयोगकर्ताकै कुरा गर्ने हो भने लेनिनले अक्टुवर क्रान्ति लगायतको समाजवादी आन्दोलनलाई सबल बनाउन नेतृत्व लिएको उदाहरण हामीले अध्ययन गरेका यथार्थपरक प्रेरणादायी खुराक बनिरहेका छन्। उनकै बुद्धिमत्तापूर्ण नेतृत्वकै कारण जारशाही निरंकुशताबाट रुसले मुक्ति पाएको थियो। उनकै संरचनालाई लिएर तत्कालिन रुसले समाजवादी रुपान्तरणसहितको आर्थिक संरचना प्रस्तुत गर्न र देशलाई विकासको उच्चतम परिवेशमा परिचित गराउन सकेकोे थियो।

लेनिनले सबैखाले अवसरलाई खुल्ला गरेर जनस्तरसम्म आफ्नो प्रतिभा देखाउने बाटो फराकिलो बनाएका थिए। फलस्वरुप उनकै स्थापित संरचनामा विकसित हुँदै ५० को दशकमा आइपुग्दा रुसले अमेरिकी महाशक्तिलाई समेत पछि पार्दै चन्द्रमामा उत्रन सकेको उदाहरण पनि स्मरणयोग्य छ। तत्कालिन अवस्थामा लेनिनले क्रान्तिको नेतृत्व गरिरहँदाको अवस्था कति जर्जर र जटिल थियो भन्ने कुरा प्रगतिशील ताकत आर्जन गरिरहेका सबैले बुझेकै विषय हो। धेरैजसो सामाजिक कार्यक्रमको निर्णय लेनिन आफै गर्थे र उनकै बुद्धिमतापूर्ण निर्णयले जनता सम्बृद्धिको सामूहिक उचाइमा पुग्न सफल हुँदै गरेको अवस्था थियो। त्यसपछि स्टालिनले उनको विरासत फराकिलो पार्न खोजे पनि उनलाई पश्चिमाहरुले खेदो खन्ने र देशभित्रकै प्रतिक्रियावादीले उनलाई गलत सावित गर्न सबै बलबुता खर्चेर लागेको कुरा पनि कतै छिपेको छैन। यद्यपि स्टालिन त्यति सबल नभएको भए जर्मनीका निरंकुश शासक हिटलरलाई परास्त गर्न विश्वलाई ठूलो मूल्य चुकाउनुपर्ने थियो। वास्तबमा हिटलरको निरंकुश जनघाती अभियानलाई स्टालिनले निस्तेज पारिछाडे। यद्यपि अहिले तत्कालको अवस्थाको रुसी महासंघ नरहेर रुसमात्र रहेको छ।

यो स्वाभाविक पनि हो नेताले निर्णय गर्न पाउनुपर्छ। यद्यपि उसले देश र जनताको हितमा काम गरिरहेको अवस्थामा आर्थिक सामाजिक रुपान्तरणसहितको नयाँ संरचना स्थापित भएर देशको विकास हुन सक्छ। अन्यथा नेताले गरेको निर्णयले आफ्नो गुटको स्वार्थका लागि राज्यको सम्पत्तिमाथि खेलबाड हुन्छ भने देशको दुर्दशा अवश्यम्भावी छ। त्यो आज हाम्रो सरकारको नेतृत्व गरिरहेका ओलीकै कारण हामीले दुर्दशा भोगिरहेको कुरा समस्या बनेर हामीमाथि बल्झिन पुगेको छ। अहिले हाम्रो नियति बनेर ओलीले नेतृत्व लिइरहेको सरकारले मच्चाएका वितण्डाले देश आक्रान्त भएको छ, तापनि उनी स्वयं महानता आर्जन गरिरहेको अभिमानका साथ डुक्रिरहेका छन्।

सामाजिक विकृतिका उदाहरण धेरै छन्। त्यस्ता विकृतिको खोज्न अन्त कतै नगएर हाम्रै पौराणिक कालखण्डका घटना अहिले सान्दर्भिक बनिरहेका छन्। यस्ता घटनाहरु कथाको रुपमा हामी धार्मिक अनुष्ठानमा श्रवण गर्ने गर्छौं। यो श्रवण गर्नु भनेको त्यस्तो दुष्कर्म नगर्नु र समाजलाई शान्तिपूर्ण समुन्नत अवस्थामा पुर्‍याउनु हो भन्ने बुझ्नुपर्छ। महाभारतमा अत्यन्त दुष्कर्मी खलनायकको रुपमा चिनिएका दुर्योधनजस्तो दम्भी र घमण्डी अनि दुष्कर्मी हुनुले पाण्डव कौरव, जसको जीतहार भए पनि महाभारतकालको सामाजिक दुर्दशा भएको उदाहरण हाम्रो अगाडि छ। यो महाभारतमा भएको दाजुभाइ विचको लडाइले हामीलाई त्यो बाटोमा नलाग्न शिक्षा दिइरहेको छ। त्यस्तै काम नगर्दा देश समाज र व्यक्तिसमेतको भलो हुन्छ भन्ने कुरा सर्वसाधारणको नेतृत्वमा रहेको नेताले बुझ्नु जरुरी भएको छ।

महाभारतकालमा भएका कुकर्म धेरै छन्। त्यसमा पनि मर्यादित राजसभामा द्रौपदीको चिरहरण गरी नांगेझार पार्ने, जुवा खेलेर सर्वश्वहरण गर्ने, लाक्षागृहको निर्माण गरेर षड्यन्त्रपूर्वक पाण्डवहरुलाई जलाएर मार्नेजस्ता कुकर्म नै थिए दुर्योधनका। यस्तै कुकर्मका कारण बनेर आफ्ना सय भाइलाई र गुरु, भीष्म पितासमेतको रक्षा गर्नु त कता हो कता, त्यो युद्धमा आफै विलिन हुन पुगेको कथा हामीले सुनिरहेका छौं। वास्तवमा यसै कथालाई सम्झाएर आधुनिक समाजलाई सही बाटोमा लैजान कम्म्रेड मदन भण्डारीले सकुनी, दुर्याेधन र महाभारतकालका खलपात्रको उदाहरण दिइरहन्थे। यतिसम्म कि राजालाई दरवारमा बसेर नेतृत्वको घमण्ड नगरेर श्रीपेच फुकालेर चिर्वाचनमा आउ भन्नेजस्ता चुनौती दिइरहन्थे।

गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरेर आउँदा मदन भण्डारीले धुवाधार आन्दोलनको नेतृत्व गरे, जसले गर्दा त्यो समझदारी भनेर सकुनीको चालमा अल्मल्याउने दुष्प्रयासको पर्दाफास भएको थियो। यसरी राष्ट्रवादी ताकत बनेका प्रखर वक्तालाई छद्मभेषी सकुनीको चालमा लाक्षागृहलाई नै बिर्साउने गरी दासढुंगामा समाप्त गरेको कुरा पनि कथा बनिरहेको छ। छानविनमा ओली नै थिए। तर पनि त्यसको अत्तोपत्तो नहुनुमा कतै सकुनीकै भूमिकामा उनी पनि थिए कि भन्ने चर्चा पनि सुनिन्छ। आशा गरौँ, त्यस्तो पात्र भने ओली नभैदिउन्। त्यस्तै दरबार हत्याकाण्ड नेपालको कोतपर्व र भण्डारखाल पर्वसँग सायद इतिहासले स्थान दिँदै जाला। यसैगरि यो देशमा जनयुद्धलाई दवाउने नाममा समेत जे–जस्ता हत्याकाण्डको श्रृंखलाबद्ध अपराध चुलिँदै गयो, त्यस्ता काण्डमा नेपालका होनाहार नेताहरुको घेराबन्दीमा हत्या हुनुमा यस्तै षड्यन्त्रकारीको भूमिका खुल्दै जानेछ।

आज देशलाई द्रौपदीको रुपमा व्यवहार गर्ने षड्यन्त्रकारी धेरै भए। कोहीले टनकपुर समझदारी भनेर देशलाई नांगेझार पार्न खोजे भने कोहीले महाकाली सन्धिमा ठूलो बहादुरी देखएको कुरा कुर्लिदै हिडे। अहिले कालापानीको जग्गा फिर्ता गर्ने त के ठोरीलाई राम जन्मभूमि बनाएर समस्याको बाटो अर्कैतिर मोड्न यी सकुनी र दुस्शासनरुपी ओली प्रवृत्ति सक्रिय बनेको छ। यतिसम्म कि अहिले गणतन्त्रकै संविधानमा प्रधानमन्त्री भएको महारथी गणतन्त्र काम लाग्दैन भन्दै हिड्नसमेत कति लाज मानिरहेको छैन भन्ने कुरा सबैको सामू छर्लंग नै छ।

अहिले षड्यन्त्रको तानाबाना बुन्नको लागि राष्ट्रबादी क्रान्तिकारीको नेतृत्वमा खरो उभिएका जनयुद्धका कमाण्डर प्रचण्डलाई कुुन लाक्षागृहमा पुर्‍याउन षड्यन्त्र त भइरहेको छैन ? अन्यथा एमालेकै नेतृत्व पंक्तिका आफ्नो पूर्व पार्टीभित्रकै नेतृत्व तहले ओलीसँग सतर्क हुँदै उनको अपराधको पर्दाफास गरिरहेका छन्। हुन पनि ओली जनताको बहुदलीय जनवाद भनेर मदन भण्डारीको नाममा राजनीति गरिरहने गर्न उनकै नाममा प्रतिष्ठान खोले र गुटबन्दीको अखडा बनाइरहेका छन्। यद्यपि ओली शक्तिशाली प्रधानमन्त्री हुने र विद्या भण्डारी राष्ट्रपति भएको अवस्थामा समेत मदन भण्डारीको हत्याको छानविन हुन सकेको छैन, किन ? यसैले ओलीको षड्यन्त्रपूर्ण चालबाजीको पर्दाफास गर्न उनीसँगै काम गरेका नेता माधव नेपाल, झलनाथ खनाल, बामदेवजस्ता हस्तीहरुसमेत ओलीजस्तो वाहियातलाई सुधार्न सकिएन भने देश बर्बाद हुन्छ भनेर उनीविरुद्ध लागि परेका छन्। सकेसम्म उनलाई अझै पनि सहमतिमा ल्याउने अन्यथा पार्टी निर्णयबाट कारवाही गर्नुपर्छ भन्ने कुरामा दृढतापूर्वक यी नेताहरु उभिएर प्रचण्डलाई दर्विलो रुपमा साथ दिइरहेका छन्। यसैले यहाँ के बुझ्न जरुरी भयो भने सही र इमान्दार नेताले नेतृत्व गर्नु पनि पनि देशलाई खतरनाक षड्यन्त्रबाट मुक्त गर्ने साहसिक अभियान हो। यो कुरा नेताले बुझ्नु जरुरी भयो।

अहिले षड्यन्त्रको परिणाम स्पष्ट हुँदै गएकोे छ। झापामा राजावादीहरुको जुलुसमा पचासौँ हजारको संख्या पु¥याउन ओलीको योगदान वरदान बनेको कुरा सुनिएको पनि छ। किनभने झापा उनकै राजनीतिक क्षेत्र हो। त्यस्तै देशभर जनताले बलिदानी संघर्षबाट स्थापित गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउँदै न्यायपूर्ण समानुपातिक विकास कार्यक्रमलाई सवल बनाउन छाडेर यो व्यवस्थै ठिक भएन यसलाई स्वीकार गर्नु बाध्यता हो भन्दै हिड्नु र देशभर राजावादीलाई साथ दिनुले महाभारतको द्रौपदी होइन सरकारको नेतृत्व गरिरहेका ओली नै नांगेझार भएका छन्। यिनले यतिखेर जे गरे पनि जागरुक नेपाली ताकतका अगाडि ओली जस्ताको षड्यन्त्रले कुनै काम गर्न सक्दैन भन्ने कुरासमेत भविष्यले स्पष्ट पार्दै जानेछ।

जनयुद्धपूर्व र जनयुद्धमा खारिएर अहिले पनि नेतृत्व गरिरहेका प्रचण्डलाई जति खुइल्याउन खोजे पनि, आफ्नो पारिवारिक समस्याको पर्वाह नगरी निरन्तर देश जनताको लागि नेतृत्व गरिरहेका छन्। उनकै सफलताको उदाहरण गणतन्त्र र नयाँ संविधान पनि हो। अहिले समाजवादी बाटोमा देशलाई डोर्‍याउन उनी आफूलाई बिर्सेर लागि परेका छन्। यसरी क्रियाशील रहेको दर्विलो नेतृत्वको साथ पाएर देश निर्माणको अभियानमा लाग्न जनताहरु आतुर छन्। तथापि कोरोनाको महामारीले पेलिएका जनतालाई हतियार बनाएर, कहिले ओम्नी, कहिले यति होल्डिङ, कहिले वाइडबडी र सेक्यूरिटी प्रेसजस्ता भ्रष्टाचार काण्ड छताछुल्ल भइरहेको अवस्थामा पनि अख्तियारमा परेको उजुरीलाई त्यस्ता पत्रु उजुरी भन्दै आफ्नो गुटलाई मालामाल बनाउन ओली लागि परेका छन्। फेरी उनको उपचारमा समेत २७ करोड भन्दा बढी राज्यको श्रोत खर्च भइरहेको सुनिन्छ। हो उनले उपचार खर्च पाउन्, यो सम्वेदनशील कुरा हो, यसमा हामीलाई भन्नु केही छैन। उनको सुस्वास्थ्य र दीर्घजीवीको कामना पनि गर्दछौँ। तर यो कोरोनाको महामारीमा सर्वसाधारणको परीक्षणसम्म गर्न सरकारले सक्दैन भनेर पन्छिन के सुहाउने कुरा हो ?

यदि उनी सही हुन भने कम्युनिस्ट पद्धति र प्रणालीअनुसार जनवादी केन्द्रीयताको सम्मान गर्ने र देशका दलाल पुँजीपति वर्गको पूर्ण रुपमा निर्मुल गरेर देशलाई सम्बद्ध बनाउन लाग्नुपर्ने हो। यसो गर्नुको सट्टा कुख्यात निरंकुशताको चालमा आफ्नो परिवारसमेत संरक्षण गर्न नसक्ने ज्ञानेन्द्रको शरणमा यिनी छन् भन्ने कुरा सुनिरहनुपर्दा देशका क्रान्तिकारीहरुको मनस्थिति कस्तो होला ? यो कुरा ओलीको दिमागले बुझ्ने क्षमता राख्छ कि राख्दैन ?

यी सबै कुरालाई विचार गर्दा ओलीले साच्चै आफ्नो जीवनको उत्तरार्धमा केही गरेर गयो भनेर इतिहास बनाउने हो भने अब पार्टीका सबै कमिटीको निर्णय शिरोधार्य गरेर प्रायश्चित गर्दै दुबै पदबाट राजीनामा गर्नु नै समस्याको समाधान हो। ओलीको दम्भको जितले यो देश र जनता हारिरहेको छ। किनभने ओली रहेसम्म देशको हित र जनताको सम्बृद्धि कल्पनाभन्दा टाढाको विषय बनेको छ। यसर्थ सबै जनता र क्रान्तिकारी ताकतले देशको दुर्दशा बनिरहेको ओली प्रवृत्ति, एमसिसी र एशिया प्यासिफिकको रुपमा प्रवेश गराउन खोजेको साम्राज्यवादी षड्यन्त्रविरुद्ध अर्को जनयुद्धका लागि तयार हुनुपर्छ।

नेपाललाई सधैं अस्थिर र गरिबीको खाडलमा पुरिरहने धृष्टता भारतीय शासकको हो। अहिलेको दुर्दशा निम्त्याउन उकास्ने र षड्यन्त्र गर्ने काम पनि भारतको हो भन्ने स्पष्ट भएको छ। यसरी नै भारतले नेपाललाई दुर्दशा निम्त्याउने हो भने आखिरमा भारत आफै विखण्डनको खाडलमा फस्न बेर लाग्ने छैन। यसैले भारतले पनि नेपाली सोझा सिधा र बहादुर जनतासँग मिलेर क्षेत्रीय शान्तिका लागि एकजुट भएर काम गर्न श्रेयस्कर हुन्छ। यसरी दक्षिण एशियाली क्षेत्रको भविष्य निर्माणमा भारतले छेकेवार लगाउनु हुँदैन। कालापानीको मात्र होइन, नेपाललाई सुगौली सन्धिपछि अंग्रेजले हडपेको जग्गा फिर्ता दिएर भारतले आफ्नो विशालता प्रदर्शन आफैमा सम्बृद्ध देश, सम्बृद्ध र सुसंस्कृत छिमेकी बनाउन सहयोगी भूमिकामा भारत अग्रसर हुनुपर्छ। यसो नगरेर सधै छिमेकीको दोहन गर्न लाग्ने हो भने मानचित्रमा अर्को चिनारी खोज्न भारतलाई धेरै समय पर्खनुपर्ने छैन।

अहिले चीनले सबल नेतृत्व दिएको कारण त्यहाँ कोरोनाजस्तो महामारीबाट जनता सुरक्षित हुन सकेका छन्। यस अर्थमा फूर्ती गर्दै जाँदाको परिणाम अमेरिकाले पनि भोगिरहेको छ। त्यस्तै संक्रामक रोगको मारमा दोश्रो स्थान लिन पुगेको भारत विकराल अवस्थामा छ। यद्यपि, ठूलो राष्ट्रवादी देखाउन लद्दाखमा चीनसँग सिंगौरी खेलिरहेको छ। यसो नगरेर भारतले चीनसँग मात्र नभएर छिमेकीसँग मित्रता सुमधुर बनाउनुपर्छ। कतै षड्यन्त्र गर्नु हुँदैन। षड्यन्त्रको परिणाम गम्भीर हुन पुग्छ।

अहिले बुद्धभूमिमा नेपालबाट विश्व शान्तिको अभियानमा नेपाली जनता लागि परेका छन्। कृषि क्रान्ति नै समाजका लागि बरदान हुन सक्छ भन्ने नेपाली युवाहरुको ठम्याइ छ। कृषि क्षेत्रको उत्पादन बृद्धिका लागि युवाहरुले इजरायल, चीन, जापान लगायतका देशको प्रविधि भित्राइरहेका छन्। हामी अहिले नमूना गाउँ विकास कार्यक्रममा छौँ। यद्यपि सरकार यो विषय सुन्न चाहिरहेको छैन र उसलाई यस्तो कुरामा फुर्सद पनि छैन। तर देशको सम्बृद्धिका लागि सरकार अग्रसर रहँदा जनसहभागिताको वातावरण बन्नुपर्छ। हामीलाई कसले नेतृत्व गर्छ भन्ने कुनै सरोकार होइन। ओलीले नै नेतृत्व गर्दा हुन्छ। तर सबैलाई समेटेर देशको सम्बृद्धिमा क्रियाशील रहन नयाँ सोचका साथ अग्रसर हुनुपर्छ। अन्यथा महाभारतको दुर्योधनको तुजुक पौराणिक कथाले त सहन सकेन, आजका नेपाली जागरुक जनताले सहन गर्न सक्छन् भन्ने सोच उनको रित्तो दिमागको उपज हुन सक्छ। यसर्थ ओलीले सबै पार्टी समितिमा आफ्नो कमजोरीको प्रायश्चित गरेर देशको सम्बृद्धिका लागि आफ्नो योगदान सुरक्षित गर्ने र ऐतिहासिक बन्नेतर्फ लाग्नु राम्रो हुन्छ। यस्तै दम्भ घमण्ड देखाउने हो भने जोसुकैले उचाले पनि उनलाई साथ दिने आखिर कोही बाँकी हुने छैनन्।

अहिले सबै एकजुट भएर देश बनाउनपट्टि लाग्न जनता तयार छन्। नेपालीहरुमा जुनसुकै षड्यन्त्रकारी दुष्प्रयास परास्त गर्न सक्ने ताकत पुर्खौदेखिको विरासत हो। जनताहरु ओलीको विरुद्ध होइन, ओली प्रवृत्तिविरुद्ध संघर्षरत रहन सधै तयार छन् भन्ने कुरा बुझेर यो देशलाई ओलीले महाभारत दोहोर्‍याउने दुष्प्रयास नगर्नु नै उनका लागि र देशका लागिसमेत हित हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्