काठमाडौं। पच्चिसौँ दिनपछिको एकल वार्ता सकेर सचिवालय बैठकमा पस्दा पनि नेकपा अध्यक्षद्वयवीच मिठासपूर्ण बोली सुन्न पाइएन बरु शुरुदेखि नै झम्टाझम्टी चल्न थाल्यो। आज झण्डै चार घण्टासम्म बालुवाटारमा बसेको बैठकमा नेताहरूले खुलेर आफ्ना कुरा राख्न पाए। यद्यपि वीचमा एकअर्कालाई रोक्ने काम भने साविकझैं चलिरह्यो।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुरुमै ‘पार्टीको लोगो दुरूपयोग गरेर किन डकुमेण्ट बाहिर पठाउनुभएको ?’ भनेर कड्किएका थिए। तर दाहालले त्यसको प्रतिवाद गर्दै ‘त्यस्तो कामको शुरुवात कसले गर्यो ? तपाईंकै सचिवालयले होइन ?’ भनेर जवाफ दिए। त्यसमा थप्दै माधव नेपालले भने ‘प्रमाण दिन प¥यो ? के हामीले गरेका हौं त्यो पनि ?’ त्यसपछि प्रधानमन्त्री तथा अध्यक्ष ओलीको ‘नाजवाफ’ हुने पालो आयो।
स्थायी समिति बैठक बोलाउनैपर्छ भन्ने कुरामा वामदेव गौतम प्रखर थिए। बरु माधव नेपालले लचिलो भएर प्रधानमन्त्रीलाई सोधे, ‘ठीक छ, भोलि नबोलाउने हो भने कहिले बोलाउने हो तपाईं नै भन्नुहोस्। दुई दिन, तीन दिन, कति दिन चाहियो भन्नुहोस्।’ तर, प्रधानमन्त्री बैठकको मिति तोक्नतिर भन्दा कुरो र विषय अन्यत्र मोड्ने र सकेसम्म बैठक स्थगित गर्नेमै केन्द्रित भएका थिए। सिधै नभनेपनि दुबै पक्षको प्रतिवेदनसम्बन्धमा कार्यदल गठन गरेर केही समय गुजार्ने र अहिलेको माहौललाई अन्यौलमा पारिदिने रणनीतिमा उनी रहेको बैठकका सहभागीहरूले बताएका छन्।
एकजना नेताले सो सन्दर्भमा भने, ‘त्यहि कार्यदलको रिपोर्टलाई साझा प्रतिवेदन मानेर अघि बढेपछि सबैलाई अल्मल्याउन सकिने मुडमा उहाँ देखिनुभएको थियो।’ बैठकमा पटक पटक नेताहरूले प्रधानमन्त्रीलाई अर्को बैठकको मिति तोक्न दबाब दिएका थिए। कति दिन चाहिन्छ भन्नुहोस् भनी दोहोर्याएर सोध्दा प्रधानमन्त्रीले ‘म दुईवटै प्रतिवेदन पढ्दिन। बरु जतिसक्दो छिटो महाधिवेशन गरौं, त्याग गर्छु’ भनेका थिए।
प्रत्युत्तरमा नेताहरूले भने, ‘आफ्नो सबै कार्यकाल सकेर त्याग गर्ने पो। त्यसोभए ठीक छ, तपाईंकै मागबमोजिम त्यो त्याग अहिलेदेखि नै शुरु गरिहालौं। सबैभन्दा पहिले तपाईंले त्याग गरेर देखाउनुहोस्। अनि अरु को–को त्याग गर्न तयार हुनुहुन्छ हेरौं हामी पनि।’
बैठकमा बालुवाटारको तर्फबाट यो सचिवालयको औचित्य छैन भन्नेसम्मको कुरो उठाइएको थियो। ‘सचिवालयको औचित्य छैन भने सबै कुराको निक्र्यौल स्थायी समितिबाट गरौं। पुनर्गठन गर्ने हो भने पनि स्थायी समितिबाटै गरौं। भंग गर्ने हो भने केन्द्रीय समितिमा जाऔं। अन्यथा, सचिवालय भनेको क्रिम अर्थात कोर अफ द लिडरसीप हो। एकसेएक वरिष्ठ नेता भएको सचिवालयको कुनै अर्थ छैन भन्नुको आशय के हो ?’ भनेर खुमलटारनिकट सदस्यहरूले पटकपटक सोध्नुभएको थियो।
त्यसको प्रत्युत्तरमा प्रधानमन्त्रीले पटकपटक आफ्नो मानमर्दन गरिएको कुरो उठाए। त्यसको काउण्टरमा वरिष्ठ नेता माधवकुमार नेपालले ‘प्रधानमन्त्रीमा बैठक आयोजना गर्न र त्यसमा बैठकमा सहभागी हुनै डराउने प्रवृत्ति रहेको साथै आफूमात्र सुप्रिम भएको दम्भ रहेकोले मानमर्दन जस्तो लागेको त होइन ? ’ भने। उनले ‘तपाईंमा अहंकार छ। बैठकमा विधि, पद्धति र विधानको पालना गरौं भनेर धेरै चोटीभन्दा पनि टेरपुच्छर लगाउनुभएन। बैठकमा राज्य सञ्चालनदेखि पार्टी सञ्चालनसम्मको विषयमा अप्ठेरो परेको हो भने सामूहिक निर्णय गरौंभन्दा कहिल्यै टेर्नुभयो ?’ भनेर सोध्दा प्रधानमन्त्री पुनः नाजवाफ भएको बताइन्छ।
माधव नेपालको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘कर्णालीमा तपाईंले के–के गर्नुभयो, त्यो सबै थाहा छ। त्यहाँ अहिले होइन, तपाईंले कमिटी बनाउँदा नै अर्को पक्षलाई किनारा लगाउने कोशिस गर्नुभएको थियो। त्यहाँ पनि आफ्नो गुटलाई बोक्ने, जुनियरलाई मन्त्री बनाउने तर वरिष्ठलाई फाल्ने गर्नुभएकै हो। किनभने वरिष्ठ जति सबै माधव नेपाल पक्ष भनेर चिनिन्छन्। तपाईंको मापदण्ड त्यहि हो ? तपाईंलाई कसले चिनेको छैन र, वरिष्ठमा आफ्नो मान्छे भए वरिष्ठलाई ल्याऊँ भन्नुहुन्छ। जुनियर भए काबिलबाट छानौँ’ भन्नुहुन्छ। त्यहि हो तपाईंको सिद्धान्त र मापदण्ड ?”
बैठकमा तुलनात्मक रूपमा वामदेवको प्रस्तुति नरम थियो। सबैलाई मिलाउने ढंगले आफ्ना भनाई राख्नुभयो। त्यहि क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्रीलाई नै बल पुग्नेगरी सहमतिको प्रस्ताव ल्याउन सचिवालयबाट वामदेव गौतमको नेतृत्वमा कार्यदल बनाऔं भन्ने प्रस्ताव राख्नेबित्तिक्कै गौतमले ‘पहिलेको कार्यदलले दिएको रिपोर्टको हालत के छ ? अहिले कार्यदल बनाउन पहिले दुई वटै प्रतिवेदनलाई झिक्नुपर्यो। यौटा प्रतिवेदन मेरोसमेत सहमतिमा आएको छ। त्यस्तो प्रतिवेदनलाई लटरपटर पार्ने बनाइने कार्यदलको जिम्मा लिन सक्दिनँ। म बस्दा पनि बस्दिँन’ भनेका थिए।
कार्यदल बनाउने हो भने स्थायी समितिमा जाऔं भन्ने विषय पनि खुमलटारको तर्फबाट उठेको थियो। तर, त्यो प्रस्तावलाई प्रधानमन्त्रीले ठाडै अस्वीकार गर्दै ‘त्यहाँ लगेर छरपष्ट पार्ने ? सबै प्रतिवेदन छापेर बाँड्ने ?’ भनेर कड्किएको स्रोतको दाबी छ। त्यस क्रममा यसअघि पार्टीको नाम, छाप र लोगो दुरूपयोग गर्दै सचिवालयमा प्रस्तुत भएका पीडीएफ प्रतिवेदन र बोलिएका कुरा रेकर्ड गरेर पहिले नै बाहिर पुर्याइएको बारेमा पनि गर्मागर्मी बहस भएको थियो। खुमलटार नजिकका भनिएका सदस्यहरूले प्रधानमन्त्रीलाई ‘प्रतिवेदन र अन्य कागजातको पीडीएफ फाइल छरपस्ट पार्ने र अन्यत्र पठाउनेचाँहि को हो नि, त्यसको प्रमाण चाहियो ?’ भनेर सोधेका थिए। उनीहरूको सोधाइ थियो – हामीलाई त प्रिन्टेड हार्डकपी मात्र दिइएको हो, तपाईंको सचिवालयमा रहेको कम्प्युटरबाट पिडिएफ फाइल पहिले नै कसरी बाहिर गयो ? जवाफ दिन सक्नुहुन्छ ?
बैठकमा ईश्वर पोखरेलले सहमतिको सूत्र राख्दै ठूलो कमिटीभन्दा सानो कमिटीमा सहमति गर्दा सजिलो हुने बताएका थिए। उनलाई जवाफ दिँदै गौतमले ‘सानोले सकेन भने ठूलैमा जाने हो भने।’ उनले यो पनि थपे, ‘ल ठीक छ, सचिवालयले सकेन भने स्थायी कमिटीमा जान्छ। त्यसले पनि सकेन भने केन्द्रीय समितिमा जान्छ। त्यहाँ पनि टुंगो लागेन भने महाधिवेशनमा जान्छ। आखिर प्रक्रिया त त्यहि हो।’
छलफलमा सचिवालयमा एकपछि अर्को आरोप प्रत्यारोप लागिसकेपछि सहमति भन्नु ‘बेतुक’को बात हुने बताइएको थियो। खुमलटार नजिकका सदस्यहरूको तर्फबाट प्रधानमन्त्रीलाई लागेको आरोपचाँहि नक्कली र समस्याजति सबै कृत्रिम हुन् भनिएको अवस्था र उहाँले महाधिवेशनबाट मात्र अध्यक्ष छाड्ने र पूरै कार्यकाल प्रधानमन्त्रीमा रहने कुरोले त्याग नहुने बरु त्यो ‘उधारो बचन’ मात्र हुने कुरोसमेत बैठकमा उठाइएको थियो।
एकपटक प्रचण्डले कडासँग कुरो राखेपछि गौतमले नरमसँग कुरो राखौं न भनी प्रस्ताव गरेका थिए। तर, नेपालले एमालेकालको बैठकको प्रसंग उठाउँदै ‘त्यो बेलामा भएको टेबुल ठोकाठोकको स्थिति बिर्सनुभयो ? बैठकमा सबैथोक हुन्थ्यो। तर, बाहिर होइन। त्यसैले अहिले भएको चर्काचर्कीलाई नौलो नमानौं’ भनेका थिए।
त्यो बेलाको स्मरण गराउँदै नेपालले मदन भण्डारी र सीपी मैनाली एउटै बेडमा होइन, एउटै कोठामा समेत सुत्न नमानेको प्रसंग पनि जोडे। ‘खै त त्यो बेलाको उक्त घटनाले पार्टी कमजोर भएन। झन् बलियो र विशाल बन्यो। त्यसैले अहिले पनि त्यहि ढंगले बुझौं।’ नेपालको सुझाव थियो।
प्रधानमन्त्रीको दम्भ र अहंकारलाई उदाहरण दिँदै नेता नेपालले एउटा गाउँको हवल्दारको उर्दीको किस्सा सुनाए, ‘गाउँलेले दियो पनि बाल्न नपाउने तर हवल्दारले गाउँभरका घर गोठमा आगो सल्काउन पाउने’ स्थिति हो अहिले ? तपाईंले जे गरे पनि,जे भने पनि हुने, हामीले बोल्दा वीच वीचमा हस्तक्षेप गर्ने ?” अन्य सदस्यले बोल्दा बीचमा रोकेका प्रधानमन्त्रीले एकपटक उनले बोल्दा नेपालले छुस्स सन्दर्भ जोड्न खोज्नासाथ ‘के मलाई बोल्न नदिने ?’ भनेर प्रतिप्रश्न गरेका थिए।
वरिष्ठ नेता झलनाथ खनालले संक्षिप्त धारणा राख्दै सारमा ‘बैठकबाट भागेर हुन्छ ?’ भनेर प्रधानमन्त्रीलाई जिज्ञासा राखेका थिए। सचिवालय बैठकअघि भएको अध्यक्षद्वयको २० मिनेटको वार्तामा खासै कुरो नभएको उच्च स्रोतको दाबी छ।
स्थायी समिति बैठक आइतबार दिउँसो एक बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भएको छ। जनआस्थामा खबर छ।



लोकपाटी न्यूज

