‘अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप बाध्यकारी नबनाइने’

Waden
लोकपाटी न्यूज

एजेन्सी। नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिन बाध्यकारी नबनाइने बताएका छन्। खोप उपलब्ध भएपछि सबैले व्यक्तिगत इच्छाका आधारमा खोप लगाउने निर्णय गर्न सक्ने बाइडेनले बताए।

कोभिड–१९ बाट शुक्रबार अमेरिकामा अहिलेसम्मकै सबैभन्दा बढी २५ सयभन्दा धेरै व्यक्तिको मृत्यु हुँदा दुई लाख २५ हजार व्यक्ति संक्रमित थपिएका थिए। अमेरिकामा हालसम्म एक करोड ४३ लाख ३७ हजार व्यक्ति संक्रमित हुँदा २ लाख ७८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

बढ्दो संक्रमणलाई हेरेरै सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)  ले घरबाहिर हुँदा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको छ। यता, ९५ प्रतिशत प्रभावकारी देखिएका फाइजर र मोडेर्नाका खोपले सर्वसाधारणको प्रयोगका लागि स्वीकृति माग गरी अमेरिकी फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनमा निवेदन दिइसकेका छन्।

बेलायतले त फाइजरको खोपलाई स्वीकृति प्रदान गरिसकेको र जनस्तरमा खोप लगाउने प्रक्रियाको थालनी गरिसकेको छ। अमेरिकाले डिसेम्बरको मध्यसम्ममा स्वीकृति प्रदान गर्ने सम्भावना रहेको जनाइएको छ। एक अध्ययनका अनुसार ६० प्रतिशत अमेरिकी कोरोना भाइरसविरुद्धको खोप लगाउन तयार देखिएका छन्।