विकासमा कसैले अवरोध गरे मलाई भन्नूस् : मन्त्री पुन

barsaman-pun ananta
लोकपाटी न्यूज

काठमाडौं। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कोभिड-१९ महामारीको समयमा समेत मन्त्रालयको प्रगति सन्तोषजनक देखिएको भन्दै खुसी व्यक्त गरेका छन्।

मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति (एम्ड्याक)  बैठकमा विभिन्न विभाग तथा कम्पनीले प्रस्तुत गरेको प्रतिवेदनहरुले विकास आयोजनाका काममा सन्तोषजनक प्रगति औंल्याएको छ।

बैठकको अध्यक्षता गरेका पुनले शुक्रबार मन्त्रालयमा आयोजित बैठकमा ऊर्जा मन्त्रालयतर्फका ९, जलश्रोत तथा सिंचाइतर्फका ४ निकायका प्रमुख तथा प्रतिनिधिले योजनाको प्रस्तुतिकरण गरेका थिए।

उनले प्रथम चौमासिकमा देखिएको कमजोरी आगामी चौमासिकमा नदोहोरिने गरी काम गर्न मातहतका सबैलाई निर्देशन दिए। ‘कोरोना महामारीको संवेदनशील अवस्थामा समेत ७८ प्रतिशत वित्तिय र झण्डै ७८ प्रतिशत नै भौतिक प्रगति हुनु खुसीको कुरा हो’, मन्त्री पुनले भने, ‘आगामी दिनहरुमा मन्त्री, सचिव, विभागीय प्रमुख सबै मिलेर यो भन्दा राम्रो प्रगति देखिने गरी काम गरौं।’

मन्त्री पुनले विकास निर्माणका काम गर्दा भरसक स्थानीय र प्रभावितलाई लाभ हुने मिल्ने गरी काम गर्न निर्देशन दिए। मुआब्जा वितरण अगावै ठेक्काको सूचना निकाल्ने, शिलान्यास गरिहाल्ने र कोठाभित्रै बसेर आयोजना बनाउने काम अब बन्द हुनुपर्ने उनको भनाइ थियो। ‘विगतमा इआइए नगरी, जमिनको मुआब्जा टुंगो नलगाइ ठेक्का दिने, शिलान्यास गरिहाल्ने र कोठामा बसेर योजना बनाउने गर्दा धेरै आयोजना अघि बढ्न सकेनन्’, मन्त्री पुनले भन्नुभयो, ‘तपाईं कर्मचारीको जागिर छ। बाबुबाजेको खेतबारी गए पनि मतलब हुँदैन।

तर, २/४ गरा खेत भएका किसानको भएको जमिन सबै विकास आयोजनाले खाँदा ऊ भोकै पर्ने अवस्था हुन्छ, अनि ढुंगा हान्न आउँछ। त्यसैले जमिन गए पनि विकास आयोजनाको लाभ किसानले पाउने अवस्थामा कसैको अवरोध हुँदैन।’

मन्त्री पुनले विकास आयोजनाको काममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र प्रभावित जनताका कुरा अधिकमत सुन्ने र समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिए। तर, समस्याप्रति गम्भीर भएर समाधान दिँदादिँदै नियतबस अवरोध भए बल प्रयोग गरेरै भए पनि काम अगाडि बढाउनुपर्ने उनले स्पष्ट पारे। उनले विकासका काममा अवरोध भए समयमै आफूलाई खबर गर्न आग्रह गर्दै समाधान निकाल्न लागिपर्ने बताए। ‘कसैले विकासका काममा अवरोध सिर्जना गरेको अवस्थामा मलाई भन्नूस्’, मन्त्री पुनले भने, ‘कोसँग कुरा गरेर समस्या समाधान गर्नुपर्ने हो म आफैं गएर समाधान गर्छु।’

वर्तमान सरकार विगतको जस्तो संक्रमणकालीन नभएकाले विकासका काममा कुनै अप्ठेरो महसुस गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो। ‘यो विगतको जस्तो संक्रमणकालीन सरकार होइन, तीन वर्षदेखि प्रधानमन्त्री, अधिकांश मन्त्री र सचिवहरु हामी एउटै छौं’, उनले भने, ‘विगतका समस्या तेस्र्याएर भाग्ने कोसिस गर्ने छुट कसैलाई छैन।’

कार्यक्रममा राष्ट्रि«य योजना आयोगका ऊर्जा र वन मन्त्रालय हेर्ने सदस्य डा. कृष्णप्रसाद ओलीले कोभिड–१९ महामारीमा समेत मन्त्रालयले काममा राम्रो प्रगति गरेकामा प्रशंसा गरे। ऊर्जा सचिव दिनेशकुमार घिमिरे, जलश्रोत सचिव मधुसूदन अधिकारी र जल तथा ऊर्जा आयोजका सचिव सागरकुमार राईले विकास आयोजनामा विगतमा देखिने गरेका समस्या नदोहोरिने गरी काम गर्न मातहतलाई निर्देशन दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्