काठमाडौं। गैरकानुनी रुपमा दक्षिण अफ्रिका र्पुयाई मानव बेचविखन गर्ने कार्यमा संलग्न फरार एक अभियुक्त पक्राउ परेका छन्। ताप्लेजुङ गेंरिडदेन गाउँपालिका-४ घर भएका ४३ वर्षीय गणेश कुमार लोंवालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
उनले ३ जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाईदिने प्रलोभनमा पारी गैरकानूनी तबरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, दुवई र कतार हुँदै साउथ अफ्रिकासम्म र्पुयाई बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४/५ महिनासम्म बन्धक बनाई राखेको खुल्न आएको प्रहरीले जनाएको छ।
पीडितहरु कोही नभएको मौका पारी भागेर नेपाली राजदूताबासमा पुगी दूताबासको समन्वयमा आफन्तहरुको सम्पर्कमा आई नेपाल फिर्ता भए पश्चात दिएको जाहेरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले अभियुक्त लोंवालाई काठमाडौं महाराजगञ्जबाट पक्राउ गरेको हो। लोंवामाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ।



लोकपाटी न्यूज

