काठमाडौं। नेपाल प्रहरीका २ जना उपरीक्षक (एसपी) निलम्वनमा परेका छन्। आफू मातहतकै प्रहरी कर्मचारीबाट रकम (घुस) असुली गरेको आरोप लागेका २ जना उपरीक्षक (एसपी) निलम्वनमा परेका हुन्।
मातहतका प्रहरी कर्मचारीबाट रकम उठाएको आरोप लागेका प्रहरी उपरीक्षकहरु विमल बस्नेत र रामेश्वर यादवलाई गृह मन्त्रालयले निलम्वन गरेको हो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णाली, सुर्खेतको प्रमुखका रुपमा कार्यरत रहँदा मातहतका प्रहरीबाट पैसा पठाएको भन्दै एसपीद्वय बस्नेत र यादवविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो।
मातहत कर्मचारीबाट पैसा उठाएको उजुरी परेपछि प्रहरी महानिरीक्षक सचिवालय मातहतको निरीक्षणालयमा कार्यरत वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा समिति गठन गरेर दुवै जनामाथि अनुसन्धान अगाडि बढाइएको थियो।
पदमा रहँदा दुवै जनाले अनुसन्धानलाई प्रभावित पार्न सक्ने भन्दै अनुसन्धान समितिकै सिफारिसका आधारमा प्रहरी प्रधान कार्यालयले दुवै जनालाई निलम्वन गर्न गृह मन्त्रालयलाई अनुरोध गरेको थियो।
प्रहरी प्रधान कार्यालयको अनुरोधपछि गृहसचिव स्तरीय निर्णयले एसपीद्वय बस्नेत र यादवलाई निलम्बन गरिएको हो।
एसपी बस्नेत अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौं र यादव महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथ काठमाडौंमा कार्यरत रहेका थिए।



लोकपाटी न्यूज

