शेरधन राईले गरे १५ सांसदलाई निलम्बन

Sherdhan Rai-3
लोकपाटी न्यूज

विराटनगर। नेकपा प्रदेश नम्बर १मा आफूलाई संसदीय दलको नेताबाट हटाएपछि शेरधन राईले १५ सांसदलाई निलम्बन गरेका छन्। बिहीबार शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गरेका हुन्। नेकपा विवादको असर प्रदेश तहसम्म पुगेको छ र एकले अर्को पक्षलाई कारबाही गरिरहेका छन्।

यसअघि दाहाल–नेपाल समूहले राईलाई संसदीय दलको नेताबाट हटाउँदै भीम आचार्यलाई दलको नयाँ नेता चुनेका थिए। प्रमुख सचेकत वुध्दिकुमार राजभण्डारीले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै उनीहरुलाई तीन महिनाका लागि निलम्बन गरेको बताए।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पटीकरण सोधिएकोमा १५ जनालाई निलम्बन गरिएको हो। निलम्बित हुनेमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, इन्द्रबहादुर आङबो, बिजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन्।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकवहादुर मगर र रामकुमार राईले भने मौखिक जवाफ दिएकाले कारवाही नगरिएको बताइएको छ। प्रदेश–१ मा प्रत्यक्षका ५६ र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट छ। जसमा नेकपाको ६७, कांग्रेस २१, जनता समाजवादीका ३, राप्रपा १ र संघीय लोकतान्त्रिक मन्चको १ सिट छ। जसमध्ये प्रदेश १ मा नेकपाका ६७ सांसद मध्ये बहुमत अर्थात् ३६ जना राईलाई हटाउनु पर्ने पक्षमा उभिएका छन्।

Sherdhan-Rai-samsad-nilamban-

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्