प्रिया देवकोटा
जीवनमा धेरै यस्ता पलहरु हुन्छन्, जुन अति प्रिय हुन्छन् । मानिसको जीवनको सबै भन्दा सुनौलो पल नै स्कुलले जीवन हुन्छ । पहिलो आत्मिय साथी, पहिलो गुरु, पहिलो पाठ एवं पहिलो प्रेम !
म एकान्तमा बस्दा अक्सर बितेका दिनलाई सम्झिएर एक्लै मुस्कुराउने गर्छु । म मुस्कुराउनुको कारण तिमी अनि मेरा बालापनका हठहरु हुन् । हिजो र आज खासै केही बदलिएको त छैन । हिजो तिमी साथमा थियौं, आज धेरै टाढा । यति टाढा कि सायद् फेरी भेट नहोला । त्यहि पनि तिमीसँग बिताएका ति स्वर्णिम पल अनि तिमीले जीवन जिउन सिकाएका ति सिकाईहरुले मलाई जीवन जिउने हौसला प्रदान गरेका छन् ।
मन भित्रको सबैभन्दा प्यारो मान्छे तिमी, खै कसरी वर्णन गरौं तिम्रो उपस्थिती । सायद यी शब्दहरु पढिरहदा तिमी पनि फर्किएर त्यही पुषको जाडो अनि सुनौलो बिहानीलाई सम्झिन पुग्छौं होला, जहाँ देखि हाम्रो यात्रा सुरु भएको थियो ।
धेरै केही भन्न चाहन्नँ, आफू हारेर भएपनि मलाई जिताउने तिमी सधैं खुसी र सफल हुनु। मेरा हरेक इच्छा र आकांक्षालाई आँखाको भावले नै बुझेर पूरा गरिदिन्थेउ ।
लाग्थ्यो तिम्रो जीवनको उद्देश्य नै मलाई खुशी दिनु हो । मेरो दुख र सुखको सारथी तिमीलाई जिन्दगिमा सफलता नै सफलता मिलोस् । जीवन जिउन र हाँस्न सिकाउने तिमीलाई कहिल्यै दुःख भोग्न नपरोस् ।
साथमा नभएपनि मेरा हरेक प्राथनामा तिम्रै खुसी माग्नेछु ।
अन्ततः मेरो हरेक जिद्दी पुरा गरिदिने तिमीसँग एउटै उपहार माग्छु । मलाई उपहार स्वरुप तिमी यति सफल ब्यक्ति बन्नु कि तिम्रा दुःखमा साथ छोडेका आफन्त पनि तिम्रा नजिक बन्न तड्पिरहुन् । तिम्रा हरेक पाईलाले सफलताको शिखर चुमून्।



लोकपाटी न्यूज

