म निरन्तर विकासका पक्षमा छुः पौडेल

Dormani_Paudel
फाइल फोटो
लोकपाटी न्यूज

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू विकासका पक्षमा निरन्तर रहने बताएका छन्। हेटौँडामा आयोजित एक कार्यक्रममा उनले पद अस्थायी हुने र आफू पदमा हुँदा या नहुँदा विकासका पक्षमा लागिरहने धारणा राखेका हुन्।

उनले प्रदेश सरकारले छोटो अवधिमा दीर्घकालीन प्रभाव पार्ने खालका महत्वपूर्ण काम गरेको उल्लेख गर्दै सरकारको विकासको कामबाट त्रसित भएका व्यक्तिले सरकारका विरुद्ध कार्य गरिरहेको बताए। पौडेलले मकवानपुरबाटै निर्वाचित भएका व्यक्तिले यही जिल्लाका मुख्यमन्त्रीविरुद्ध काम गरिरहेको घटनालाई जिल्लावासीले मसिनो गरी केलाउनुपर्ने धारणा राखे।

जिल्लाको विकास नचाहनेलाई पहिचान गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले कुन नेता ठीक र कुन बेठीक भनेर छुट्याउनुपर्ने बेला भएको बताए। मुख्यमन्त्री पौडेलले थैलीमा राखेर पुँजी नबढ्ने धारणा राखे। सहकारीले देशमा उत्पादन तथा रोजगारी सिर्जना गर्नेगरी काम गर्नुपर्ने उनको भनाइ थियो। उनले देशमा थुप्रै अवसर भए पनि पुँजी अभावका कारण बाहिरिएका जनशक्तिलाई स्वदेशमा नै भित्र्याउन सहकारीले भूमिका खेल्नसक्नुपर्ने बताए।

‘हाम्रो सहकारीमा यति करोड निक्षेप छ भन्नेभन्दा पनि हामीले यस्ता उद्यम सञ्चालन गरेका छौँ, ती उद्योगमा यति जनशक्तिले रोजगारी पाएका छन्, हामीले यति उत्पादन गरेका छौँ, सहकारीका माध्यमबाट हामी आत्मनिर्भर भएका छौँ यस्ता कुरा सुन्न पाइयोस्,’ पौडेलले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्