तोकिएकै समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री पौडेल

Bishnu_Paudel
लोकपाटी न्यूज

वीरगन्ज। अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा विघटनको निर्णय बदर हुने कुनै सम्भावना नरहेको बताएका छन्। बुधबार वीरगन्जमा महासचिव पौडेलले भने, ‘जतिबेला प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिराख्नु भएको थियो। त्यतिबेला उहाँ प्रतिनिधिसभामा नेकपाको संसदीय दलको नेताको रुपमा हुनुहुन्थ्यो, त्यतिबेला उहाँ प्रतिनिधिसभामा बहुमत सदस्यको समर्थन जितेको प्रधानमन्त्री हुनुहुन्थ्यो।’

उनले अगाडि भने, ‘जब बहुमत सदस्यको विश्वास जितेको प्रधानमन्त्रीले यो प्रतिनिधिसभाबाट मुलुक अब अगाडि जान नसक्ने भयो, अगाडि बढाउनका लागि ताजा जनादेशका लागि जानुपर्ने अवस्था रह्यो भनेर उहाँले बहुमत सदस्यको समर्थन आफूसँग राखेर संसद विघटन गर्नु भएको छ भने, त्यो प्रतिनिधी सभा विघटनको निर्णय वदर हुने कुनै सम्भावना नै रहँदैन।’

बहुमत सदस्यलाई साथमा राखेर लिएको निर्णय बदर हुने हो भने अल्पसंख्यक सदस्यले कुनै वैकल्पिक सरकार दिने सम्भावना हुँदैन। ‘यसकारणले पनि संसद विघटनको निर्णय सदर हुन्छ र मुलुक निर्वाचनमा जान्छ,’ उनले भने, ‘तोकिएको मितिमा निर्वाचन सम्पन्न हुन्छ। निर्वाचनका सम्पन्न गराउनका लागि सुरक्षाकर्मी र निर्वाचन आयोगले प्रतिवद्धता व्यक्त गरेका छन्।’

आन्तरिक विवादका कारण अपेक्षित विकास हुन नसकेको स्वीकार गर्दै अर्थमन्त्री पौडेलले मुलुकलाई स्थायित्व प्रदान गर्न ताजा जनादेशमा जान आवश्यक रहेको बताए। बैशाखमा हुने निर्वाचनबाट फेरि केपी ओलीकै नेतृत्वमा बहुमतको सरकार बन्ने निश्चित भएको उनले दाबी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्