काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई मंगलबार पदमुक्त गरेका छन्। मन्त्री बोहरालाई पदमुक्त गरी प्रदेश प्रमुखलाई जानकारी गराइसकिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
अहिलेको राजनीतिक परिस्थितिका कारण उनलाई हटाइएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए। बर्खास्तमा परेका मन्त्री बोहरा नेकपाको केपी शर्मा ओली समूहका केन्द्रीय सदस्य हुन्।
डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहराले पदमुक्त भएपछि प्रतिक्रिया दिँदै राजनीतिक पूर्वाग्रह राखेर आफूलाई पदमुक्त गरिएको बताए।
‘मन्त्रीको जिम्मेवारीमा रहेर आफूले कार्यसम्पादन गर्दा मुख्यमन्त्रीको शिर उँचो बनाउने नै काम गरेको थिएँ’, बोहराले भने, ‘आफू संस्थापन पक्षमा लागेकै कारण पदमुक्त गरिएको हुन सक्छ।’



लोकपाटी न्यूज

