फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख नजिक

लोकपाटी न्यूज

काठमाडौं। नेपालमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख नजिक पुगेको छ। द्रुत गतिको सेवा लिन चाहने थपिँदा फाइबर लिंकको उपयोग बढेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले गत असोजसम्मको एमआइएस रिपोर्ट सार्वजनिक गर्दै फाइबर इन्टरनेट सब्स्क्राइबरको संख्या गत भदौदेखि असोजको एक महिने अवधिमा करिब ३२ हजारले थपिएको जनाएको छ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले एक महिनामै करिब १० हजार फाइबर इन्टरनेट प्रयोगकर्ता थपेको छ। आइएसपीहरुको लाइनमा पाँचौं स्थानमा रहेको एनटीसीसँग ५९ हजार ७ सय १३ फाइबर इन्टरनेट ग्राहक रहेको प्राधिकरणले जनाएको छ।

सबैभन्दा बढी ग्राहक रहेको वर्ल्डलिंकले भदौदेखि असोजको अवधिमा झण्डै सात हजार नयाँ प्रयोगकर्ता थपेको छ। वर्ल्डलिंकसँग असोज २०७७ सम्म चार लाख नौ हजार ६४ फाइबर इन्टरनेट ग्राहक छन्।

फाइबर इन्टरनेट ग्राहक संख्यामा सुबिसुले भायनेटलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ। सुबिसुले एक महिनामा ७३ सयभन्दा बढी सब्स्क्राइबर थपेर एक लाख २३ हजार तीन सय १६ फाइबर इन्टरनेट प्रयोगकर्ता पुर्‍याएको छ। भायनेटसँग भने एक लाख २१ हजार एक सय ५९ फाइबर ग्राहक रहेको प्राधिकरणको तथ्यांक छ। क्लासिक टेकसँग गत असोजसम्म ग्राहक करिब एक लाख १३ हजार जना पुगेका छन्।

गत असोजमा केबल इन्टरनेट प्रयोगकर्ता घटेका छन्। भदौमा करिब दुई लाख २६ हजार केबल इन्टरनेट रहेकोमा असोजमा दुई हजारले घटेर दुई लाख २४ हजार हाराहारी पुगेको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढी केबल इन्टरनेट ग्राहक एनटीसीसँग छ।

भदौमा एक लाख ८८ हजार रहेका केबल इन्टरनेट प्रयोगकर्ता असोजमा १८ सय ७८ ले घटेर एक लाख ८६ हजार ३ सय २७ पुगेको प्राधिकरणले जनाएको छ। यस्तै, सुबिसुसँग २९ हजार ७ सय ५६, वर्ल्डलिंकसँग ७ सय ७० केबल इन्टरनेट ग्राहक रहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्