जुम्ला। यतिबेला जुम्लामा एकातिर चरम जाडो छ, अर्कोतिर लोडसेडिङ भइरहेको छ। चिसो मौसमलाई न्यानो बनाउन विद्युतको सहारा लिने अवस्था छैन। विद्युतीय हिटर प्रयोग गर्ने अवस्था छैन, बरु नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडसेडिङको कारण देखाउँदै हिटर लगायतका बढी विद्युत तान्ने सामग्री प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गरेको छ।
प्राधिकरण जुम्लाका कार्यालय प्रमुख गौरव पाण्डेका अनुसार २२० किलोवाट क्षमताको विद्युत घटेर ११० किलोवाटमा झरेपछि लोडसेडिङको समस्या बढेको हो। कार्यालय प्रमुख पाण्डेले हाल करीब ६ घण्टाजति मात्र विद्युत् आपूर्ति हुने गरेको बताए। उपभोक्ता नेत्र शाहीले भने २४ घण्टामा २१ घण्टा जति लोडसेडिङ हुँदै आएको गुनासो पोखे।
राष्ट्रिय प्रसारण लाइन नजोडिएसम्म जुम्लाको विद्युत्को समस्या समाधान नहुने प्राधिकरण प्रमुख पाण्डेले जिकिर गरे। यहाँको तत्कालको समस्या समाधानका लागि भने फाइल लिएर काठमाडौं जान थालेको उनको भनाइ थियो।जाडोले सरकारी कार्यालय तथा गैरसरकारी संस्थामा काम गर्ने कर्मचारीलाई काम गर्न अप्ठ्यारो पर्दै गएको छ।
वर्षा र हिमपात नभए पनि कर्मचारीले कार्यालयमै आगो बालेर दैनिक सेवा प्रवाह गरिरहेका छन्। आगो बालेर भए पनि कर्मचारीले सेवाग्राहीलाई सेवा दिइरहेको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए। यद्यपि कार्यालयमा रहेका मेसिनरी सामग्री फ्याक्स, प्रिन्टर पनि चिसोले जाम हुन थालेपछि कार्यालयको काम प्रभावित हुँदै गएको जनाइएको छ।
फिल्टर र बोतलको पानी ठप्पै रोकिएको छ। यो समयमा विद्यालयमा पठनपाठन गर्ने बालबालिकालाई अझ बढी समस्या हुँदै गएको चन्दननाथ नमूना मावि खलङ्गा जुम्लाका प्रधानाध्यापक टंकबहादुर महतले जानकारी दिए।
राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार हाल कर्णाली प्रदेशका हिमाली जिल्लामा बस्ने ३ लाख ८१ हजार नागरिक यसबाट प्रभावित भएका छन्। जाडोको चरम पीडामा माथिल्लो डोल्पाको धो, तराप, हुम्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिका र मुगुको कार्मारोङ गाउँपालिका र जुम्लाका पातारासी गाउँपालिकाका नागरिक रहेका छन्।
हुम्लाको उत्तरी क्षेत्रमा नाम्खा गाउँपालिका–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी देखिन छाडेको सीमा सुरक्षा चौकी (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले जानकारी दिए। कठोर चिसोले सुरक्षाकर्मी नै असुरक्षित रहेकाले नियमित सेवाका काम गर्न समेत निकै कठिन भएको प्रहरी निरीक्षक केसीले बताए। रासस



लोकपाटी न्यूज
