काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ।
सभामुखको निवास लैनचौरमा भएको भेटमा नेपाल र चीनको द्विपक्षीय हित र चासोका विविध आयामका बारेमा छलफल भएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।
सभामुख सापकोटालाई उपमन्त्री क्वो ये चौले चिनियाँ नेशनल कांग्रेसका प्रमुखले पठाएको सन्देश हस्तान्तरण गर्दै आगामी दिनमा दुई देशको संसद्बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका थिए।
सभामुख सापकोटाले दुई देशबीचको जनस्तरको सम्बन्धलाई बढावा दिन जनप्रतिनिधिमूलक संस्थाको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि आफ्नोतर्फबाट सदैव तयार रहेको बताएका थिए।
कोरोनाको प्रभाव कम हुने बित्तिकै एक अर्का देशमा भ्रमण आदानप्रदान गर्ने विषयमा समेत उनीहरुबीच विचारविमर्श भएको थियो। सभामुख सापकोटाले कोरोना महामारी नियन्त्रणका लागि चीन सरकार र चिनियाँ जनताले देखाएको सहयोगको समेत त्यस अवसरमा प्रशंसा गरेका थिए।
यस्तै प्रतिनिधिमण्डलले आजै पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेको थियो। छुट्टाछुट्टै भएको भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो। आज बिहान मात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता भएको थियो।



लोकपाटी न्यूज

