थम्मन थापा/ बागलुङ, १३ पुस। गलकोट नगरकार्यपालिकाको ४३ औँ वैठक सम्पन्न भएको छ। बैठकले आर्थिक वर्ष २०७८/०७९ मा संचालन हुने संघीय समपुरक र विशेष अनुदानको लागि आयोजना तथा कार्यक्रमहरु नगरपालिका भित्र बिस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएका सडक स्वास्थ्य चौकी, वडा कार्यालय तथा झोलुङ्गे पुलहरु स्वीकृत गरी पठाउने, सडक बोर्डबाट प्राप्त कार्यक्रम अन्तरगत मल्म, पाण्डवखानी, रणसिंहकिटेनी हुँदै ढोरपाटन मोटरबाटो छनोट गरि पठाउने निर्णय गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी “हेमन्त”ले जानकारी दिए।
प्रवक्ता भण्डारीका अनुसार बैठकमा विभिन्न विधेयकहरु संस्था दर्ता, कर्मचारी व्यवस्थापन, स्थानीय तथ्याङ्क संकलन सम्बन्धी विद्येयक अध्ययनको लागि समय प्रदान गरिएकोले आगामी नगर सभामा पेश गर्ने निर्णय भएको छ। त्यस्तै बैठकले श्रोत परिचालन निर्देशिका २०७७, खानेपानी तथा साना सिँचाई दर्ता नबिकरण र सूचिकृत गर्ने कार्य विधी २०७७, मदिरा नियन्त्रण तथा नियमन गर्ने निर्देशिका २०७७, लैङ्गीक हिंसा निवारण कार्यविधी २०७७ लाई समेत नगरसभामा पेश गर्ने गरि प्रस्ताव गरिएको छ। भवन निर्माण कार्यविधी २०७७, भवन नियमित गर्ने कार्यबिधी २०७७, शहरी बिकास योजना तथा भवन निर्माण सम्वन्धी आधारभुत मापदण्ड २०७७ शंसोधन सहित पारित गरि लागू गर्ने निर्णय भएको प्रवक्ता भण्डारीले बताए।
नगरपालिकामा आयोजना बैंक स्थापना गर्ने, गलकोट नगरपालिकाको लागि बालमैत्री तथा प्रविधीमैत्री विद्यालय शिक्षाको कार्यक्रम संसोधनसहित लागू गरी नगर तथा वडाहरुमा बालमैत्री सम्पर्क व्यक्ति चयन गरी कार्यन्वयन गर्ने निर्णय भएको हो। बैठकले गलकोट नगरपालिका वडा नम्वर ७ को जनहित माध्यमिक विद्यालयमा कक्षा ११ संचालनको लागि अनुमति दिने निणर्य गरेको गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले जानकारी दिए। उनका अनुसार नगरपालिकाले हाल सम्म गरेको खर्च समेत अनुमोदन गरिएको छ।
गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/०८९ मा संचालन हुने गरी साना कृषि उत्पादन केन्द्र पकेटहरु संचालन गर्न प्रस्ताव गरि परियोजना कार्यान्वयन इकाइमार्फत् परियोजना व्यवस्थापन गर्ने निर्णय भएको छ। जसअन्तर्गत गलकोट नगरपालिका वडा नम्वर १ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ वाख्रा, वडा नम्वर २ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ बंगुर, वडा नम्वर ३ मा कृषितर्फ सुन्तलाजात फलफुल र पशुपक्षीतर्फ भैसीं/रागां, वडा नम्वर ४ मा कृषितर्फ किवि र पशुपक्षीतर्फ भैसी, वडा नम्वर ५ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ स्थानिय कुखुरा पकेट क्षेत्रको लागी पस्ताव गर्ने निर्णय भएको छ।
त्यस्तै वडा नम्वर ६ मा कृषितर्फ धान र पशुपक्षीतर्फ बाख्रा, वडा नम्वर ७ मा कृषितर्फ गहुँ र पशुपक्षीतर्फ स्थानिय कुखुरा, वडा नम्वर ८ मा कृषितर्फ आलु र पशु पक्षीतर्फ भैसी, वडा नम्वर ९ मा कृषितर्फ मौरी र पशुपक्षीतर्फ भैसी, वडा नम्वर १० मा कृषितर्फ अदुवा वेसार र पशुपक्षीतर्फ भेडा, वडा नम्वर ११ मा कृषि तर्फ मौरी र पशुपक्षीतर्फ बंगुर पकेट क्षेत्रको लागी प्रस्ताव गर्ने निर्णय भएको हो। बैठकले गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा भएको थियोे भने सहजीकरण सूचना अधिकारी तुल बहादुर बिकले गरेका थिए।



लोकपाटी न्यूज

