संखुवासभामा प्रहरी र विप्लव पक्षबीच गोली हानाहान

gun-attack
लोकपाटी न्यूज

काठमाडौं। संखुवासभाको चैनपुर-४ मैदानेमा आइतबार साँझपख प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो फायरिङ भएको छ। आइतबार दिउँसो बरिव ३ तिर विप्लब नेकपाका कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले जानकारी दिए।

विप्लव कार्यकर्ताले प्रहरीको नियमित गस्तीमाथि गोली प्रहार गरे पछि प्रहरीले जवाफी फाइरिङ गरेको डीएसपी मल्लले बताए। डीएसपी मल्ले भने, ‘त्यस क्षेत्रमा लुकेर बसेको विप्लवका जिल्ला इन्चार्ज उत्तरकुमार भनिने युवराज राई समेतका विप्लव कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर गोली चलाएको हो।’

घटनास्थलबाट जिलेटीन लगायतका केही सामाग्री बरामद भएको छ। कोही पनि पक्राउ परेका छैनन्। विप्लव नेकपाका नेता-कार्यकर्ता भएको सूचनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो। प्रहरीलाई देखेपछि विप्लव समूहका कार्यकर्ताले गोली चलाएको प्रहरीले जनाएको छ। विप्लव नेकपाका कार्यकर्ता जंगलतीर भागेका छन्।

प्रहरीले फायरिङ खोलेपछि विप्लव कार्यकर्ता भागेको डीएसपी मल्लले जानकारी दिए। गोली चलेपनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। घटनापछि उनीहरुको खोजीका लागि थप प्रहरी परिचालन गरिएको डीएसपी मल्लले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्