पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा जे भए पनि गण्डकीमा मिलेर सरकारमा रहन प्रस्ताव गरेका छन्। बागमती प्रदेशमा प्रचण्ड-माधवसमूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि गण्डकीका मुख्यमन्त्रीले संघ र अरु प्रदेशमा जे भए पनि गण्डकीमा मिलेर जान प्रस्ताव गरेका हुन्।
‘साविक एमालेबाट २८ जना, साविक माओवादीबाट १२ जना, कांग्रेसको १५ जना, समाजवादीको २ र राष्ट्रिय जनमोर्चाको ३ जना हुनुहुन्छ,’ मुख्यमन्त्री गुरुङले भनेका छन्, ‘४० जना हामी छौं। संघमा जे सुकै गरुन्, विकासको यो अभियानमा, समृद्ध प्रदेशको अभियानमा गण्डकी प्रदेशले साच्चिकै नमूना देखाएको छ। त्यसैले यही संसदीय दलमा रहेर जान म आग्रह गर्दछु।’
उनले त्यसो नभए भोलि धेरै गाह्रो हुने पनि बताए। जनयुद्धको लिगेसी होला तर त्यसको संवोधन पनि आफूहरुले नै गर्ने गुरुङले बताए। ‘हामीलाई त कुनै डर छैन। उच्च मनोबलका साथ चुनावमा जाने हो,’ गुरुङले भने, ‘२ वटा पार्टी फुट्यो त के भयो ? मान्छेहरुले भनिरहेका छन्। हेर्दै जानुहोला, संसद पुनर्स्थापित नहुँदै र सूर्य चुनाव चिह्न हामीले पाउनेबित्तिकै सबैको झोली तुम्बा रित्तिने छ।’
मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीले संविधानको धारा मिचेर संसद भंग गरेकाले अंवैधानिक भन्दै प्रचारमात्र गरिएको बताए। बहुदलीय शासन प्रणालीमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई जनताले म्याण्डेट हुँदाहुँदै काम गर्न नदिएपछि संसद भंग गरेर जनतामा जानु संसदीय मूल्य मान्यताभित्रैको कुरा भएको उनको भनाइ थियो।
‘धेरैलाई भ्रम छ, फेरि संसद पुनस्थापना हुन्छ कि माधवकुमार नेपालहरुको पक्षमा जान्छ कि भन्ने तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसदीय छलफलै नगरिकन अविश्वास प्रस्ताव ल्याउने कुरा मर्यादाभित्र पर्दैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘जनताको जनमतको अपमान गर्ने भएपछि अब यसको फैसला प्रधानमन्त्रीले होइन, जनताले नै गर्ने हो।’
प्रधानमन्त्रीले संसद भंग गरेर राजालाई नबुझाएको उनको भनाइ थियो। ‘नेपालको प्रधानमन्त्रीले संसद भंग गरेर राजालाई बुझाएको हो ? होइन। सेनालाई बुझाएको हो ? होइन। प्रधानमन्त्रीले संसद विघटन गरेर आफ्नो खल्तीमा राखेको हो ? होइन। जनताको मौलिक अधिकार खोसेर संकटकाल लगाएको हो ? होइन,’ मुख्यमन्त्री गुरुङले भने, ‘सार्वभौम जनतामा जान चाहन्छु, न्याय दिने काम उहाँहरुको हो भनेर जानु संसारमै सबैभन्दा लोकतान्त्रिक र गणतान्त्रिक हो।’



लोकपाटी न्यूज

