काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।
प्रस्तावकका रुपमा प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल छन्। जम्मरकट्टेल सहित तीन जना सांसदले सामूहिक राजीनामा गरेर पौडेल विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका हुन्। साथै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको छ।
अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भइरहदा मुख्यमन्त्री पौडेल काठमाडौंमा थिए। उनले आफूले पनि अविश्वास प्रस्ताव दर्ता भएको जानकारी पाएको बताए। कानुन र संविधानअनुसारनै सबै कुरा हुने बताउँदै उनले भने, ‘यस्ता कुराहरू भइरहन्छन्, आरामसँग सामना गर्छु।’ संसदीय अभ्यासमा यस्ता कुरा भइरहने बताउँदै उनले स्वाभाविक रूपमा लिएको प्रतिक्रिया दिए।
मुख्यमन्त्री पौडेल भन्छन्, ‘यस्तो हुन्छ भन्ने कुरा जानेकै बुझेकै कुरा थियो। त्यसैले ठूलो विषयको रूपमा लिएको छैन।’ बागमती प्रदेशसभामा ११० जना सदस्य छन्। त्यसमध्ये ८० जना सदस्य नेकपाका छन्। पार्टी विभाजन भएपछि प्रदेशसभा सदस्यहरु पनि विभाजित भएका छन्। तीमध्ये ४५ जनाले पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्।
नेकपाभित्र विवाद चुलिएपछि प्रदेश सरकारमा पनि त्यसको असर पर्ने अनुमानकाबीच त्यसको पहिलो परिणाम वाग्मती प्रदेश सरकारमा देखिएको हो।



लोकपाटी न्यूज

