गोकुल बाँस्कोटा फेरि मन्त्री बन्ने

Gokul Prasad Baskota
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ६ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो। बैठकले महत्वपूर्ण निर्णय गर्ने आँकलन गरिएको छ।

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले आजको बैठकबाट मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। हिजोमात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको पहिलो काम मन्त्रिषरिषद् विस्तार हुने बताएका थिए।

ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका ७ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। राजीनामा दिने मन्त्रीहरुमा घनश्याम भुसाल, गिरिराजमणि पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, रामेश्वर राय यादव र बिना मगरले राजीनामा दिएका थिए।

पच्चिस सदस्यीय मन्त्रिपरिषद्मा ७ जना मन्त्रीले राजीनामा दिएपछि हाल १८ जना मन्त्री तथा राज्यमन्त्रीहरु छन्। प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाइँले मन्त्रिपरिषद् पुनर्गठन हुनलागेको जानकारी दिए। ‘मन्त्रिपरिषद् पुनर्गठन हुन्छ। त्यसको तयारी भइरहेको छ,’ उनले भने।

को को हुँदैछन् मन्त्री?

मन्त्री हुनेको दौडमा पूर्व माओवादी समूहबाट ओली गुटमा सहभागी नेताहरुको नाम अग्रस्थानमा छ। स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणी थापा सरकारमा सहभागी हुने बताइएको छ।

यस्तै, महेश बस्नेत, नवराज सिलवाल र र गोकुल बाँस्कोटाको नाम पनि मन्त्री हुने सूचीमा रहेको ओली निकटका नेताहरुले बताएका छन्। त्यसैगरी कर्णालीबाट मोहन बानियाँ मन्त्री हुने चर्चा छ। सुदूरपश्चिमबाट प्रेम आलेको नाम पनि चर्चामा छ।

पार्टी कमिटी र संसदीय दलमा अल्पमतमा परेपछि ओलीले संसद विघटन गरेका थिए। उनको कदमको विरोधमा नेकपाका अध्यक्षद्वय प्रचण्ड-नेपाल पक्षले आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्