अस्थिर बादलको ईतिहास, टिक्ला त ओलीसंगको सहकार्य?

Ram-bdr-thapa Badal
लोकपाटी न्यूज

काठमाडौँ । नेकपा विभाजन भएको तेस्रो दिन रामबहादुर थापा प्रष्टरुपमा खुले र केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकमा सहभागी भए। त्यहाँ उनले भने, ‘नेकपाबाट एउटा गुट अलग भएको छ। प्रतिक्रियावादीहरूले उसमा खुशी र उत्सव मनाइरहेका छन्। जनता दुखित भएका छन्। प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ। चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ। उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ। उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ। हामी प्रतिगमनकारी र अवसरवादीहरूलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशको सही ढंगले नेतृत्व गर्नेछौं।’

असार १७: झम्सिखेलमा नेकपाको ओलीविरोधी समूहको भेलामा थापा सहभागी थिए। भेलामा थापाले सरकार र पार्टी नेतृत्वबाट ओलीलाई नहटाए देशमा प्रतिक्रान्ति हुने सुनाएका थिए। असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा थापा सरकार बचाउने वा गिराउने कुन पक्षमा लाग्छन् भन्ने चासो भइरहेका बेला झम्सिखेल भेलामा सहभागी भएर उनले अब ओलीबाट देश र पार्टी चल्न नसक्ने निष्कर्ष नै सुनाएका थिए। थापाले भनेका थिए–‘समाजवादी आन्दोलनलाई अगाडि बढाउन र उपलब्धि जोगाउन अहिलेको सरकारको नेतृत्वबाट सम्भव छैन अब बदल्नुपर्छ। अहिले प्रतिक्रान्तिका विरुद्ध क्रान्ति र दलाल पुँजीवादका विरुद्ध समाजवादको लडाइँ चलेको छ। त्यसैले पार्टी र सरकारमा नयाँ नेतृत्व ल्याउनुपर्छ।’

करिब ६ महिनाको अन्तरमा गृहमन्त्रीसमेत रहेका थापाका यी परस्पर अभिव्यक्तिले उनले आकलन गरेको राजनीतिक परिस्थिति मात्रै होइन, उनको अस्थिर मनस्थितिको पनि तस्वीर देखाउँछ। निकै ठूलो शक्ति संघर्षबाट गुज्रेको नेकपा पुस ६ सम्म आउँदा विभाजनमा पुग्यो। कम बोल्ने स्वभावका थापा आफ्ना पूर्व सहकर्मी सबैलाई दाहाल–नेपालको जिम्मा लगाएर एक्लै ओली समूहमा गए। पार्टी विभाजनको तीन दिनसम्म कहिले बालुवाटार त कहिले खुमलटारको समूहसँग पटक–पटक संवाद गरेका थापाले अन्तत ओलीले छेडेको युद्धको सिपाही भएर मैदानमा उत्रने निर्णय लिए।

थापाको यो कदमलाई लिएर उनलाई नजिकबाट बुझ्नेहरुका विभिन्नखालका अड्कलबाजी छन्। उनीहरु मध्येका केहीको बुझाई छ– थापाको ओलीसँगको सहकार्य संसद पुनस्थापना हुँदैन भन्ने सन्देश हो। थापासँग लामोसमय काम गरेका नेकपाका स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘संसद पुनस्थापना हुन्छ भन्ने लागेको भएको भए थापाले सम्भवत ओलीको साथ दिँदैनथे। संसद पुनस्थापना नहुँदा आफूहरुको कदम संवैधानिक थियो भन्ने राजनीतिक आधार बन्न सक्ने थापाको आकलन देखिन्छ।’ यो मुद्दा सर्वोच्च अदालतमा छ।

थापानिकट मानिने तर अहिले नेकपाको दाहाल–नेपाल समूहमा रहेका एक केन्द्रीय सदस्यले थापाले ओलीसँग सहकार्यको हात बढाएर बैशाखमा चुनाव हुँदैन भन्ने संकेत गरेको विश्लेषण सुनाए। कसरी? उनले भने, ‘थापाको अहिलेको कदम राजनीतिक रुपमा स्वभाविक र प्राकृतिक देखिँदैन। आफ्ना सहकर्मी सबैले असहयोग गर्दा पनि उनी ओलीसँग सहकार्यको तहमा पुगे। थापा बैशाखमा चुनाव हुँदैन भन्नेमा ढुक्क छन्।’ राष्ट्रियसभा सदस्य रहेकाले थापाका लागि प्रतिनिधि सभाको चुनावको अन्य नेताहरुलाई जति महत्वपूर्ण छैन।

नेकपाकै अर्का एक सदस्यले राजनीतिक–वैचारिकरुपमा विचलित भएर थापाले पदकै लागि ओलीसँग सहकार्य गरेको विश्लेषण गरे। उनले भने, ‘सरकार गठन भएको तीन बर्ष भयो। ओली मन्त्रिपरिषद्मा उनी शक्तिशाली मन्त्री बने । अहिले गृहमन्त्रीको पदलाई सुरक्षित गर्न ओलीसँग नजिक भए। र, यसमा गृहमन्त्री चार महिनामात्रै होइन लामो समय बसिन्छ भन्ने थापाको बुझाई छ। संसद पनि पुनस्थापना नहुने र बैशाखमा चुनाव पनि नहुने हो भने थापाको कार्यकाल लम्बिन सक्छ।’ गृहमन्त्रीका रुपमा अहिलेसम्म थापाको कार्यकाल औसत छ। उनका कार्यकालमा निर्मला पन्त बलात्कार र हत्यालगायतका केही गम्भीर अपराध अनुसन्धान निष्कर्षमा पुगेका छैनन्।

हाल थापासँगै रहेका ओली नेकपाका एक केन्द्रीय सदस्यको बुझाईमा थापाले दाहाल–नेपालतिर भन्दा ओलीतिर राजनीतिक सम्भावना देखे। कसरी? उनले विश्लेषण सुनाए, ‘वामदेव गौतम दाहाल–नेपाल समूहमा सहभागी नभए थापाको वरियता पाँचौ हुने थियो र गौतम सहभागी हुँदा छैठौँ। यदि गौतम नखुल्दै थापा दाहाल–नेपाल समूहमा जोडिएको भए उनी दाहाल, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठपछि पाँचौ वरियतामा हुन्थे। तर, थापाले ओलीलाई समर्थन गरेर हाल दोस्रो वरियता सुरक्षित गरेका छन्। यद्यपि गौतम ओली खेमामा गए भने थापा तेस्रो वरियतामा हुनेछन्। ओली समूहको दोस्रो नेता हुन छाडेर थापाले अर्को समूहमा पाचौँ वा छैठौँ वरीयता रोज्न तयार भएनन्।’

प्रचण्डलाइ फेरि धोका

२०२८ सालमै कम्युनिस्ट पार्टीको सदस्यता लिएका प्रचण्ड र र २०३७ देखि पार्टी सदस्यता लिएर पूर्णकालीन भएका थापाबीच निकै घनिष्ट सम्बन्ध रहेको इतिहास छ। तर, नेकपा विभाजनसँगै फेरि एकपटक पुराना मित्र दाहाल र थापाको मन पनि विभाजित भएको छ।

दाहाल र थापाबीच सम्बन्धको लामो इतिहास छ। उनीहरु कहिले धेरै नजिक भएका छन् त कहिले टाढा। दुवै विज्ञान विषय पढेका र एउटै उद्देश्य राखेर राजनीतिमा पनि होमिएका थिए। तर, सम्बन्ध भने उतारचढावपूर्ण रह्यो। ०३५/०३६ सालतिर उनीहरुबीच गजबको मित्रता थियो। तर, माओवादीको शसस्त्र युद्ध सुरु भएदेखि नै दाहाल र थापाबीच कहिले राजनीतिक त कहिले सांगठनिक विवाद भएको इतिहास छ । २०५३ को माघमा त दाहालले थापामाथि ‘अराजकता’ निम्ति ‘अनुशासनात्मक कारबाही’ गरेका थिए। त्यसबेला थापालाई ‘लिनप्याओवादउन्मुख प्रवृत्ति’को आरोप थियो। २०६२ को चुनवाङ बैठकमा मात्रै थापामाथिको ‘लिनप्याओवाद’को आरोप खारेज भयो। चुनवाङ बैठकमा थापाले रुँदै रुँदै मन्तव्य राखेका थिए।

२०६९ मा प्रचण्डसँग अलग भएर मोहन वैद्यको साथ लागेका थापा २०७३ जेठमा प्रचण्डसँगै सहकार्य गर्न फर्केका थिए । २०७३ बैशाख २८ गते पार्टी एकताका लागि १३ बुँदे साझा सहमतिको मस्यौदा तयार बनाएपछि दाहाल–थापा एकै ठाउँ हुने अवस्था पुगेको थियो । त्यसैअनुसार उनीहरुबीच २०७३ जेठ ६ गते एकता अधिवेशन आव्हान भयो । पार्टी एकता भई नेकपा (माओवादी केन्द्र) बन्यो ।

त्यही माओवादी केन्द्रपछि तत्कालीन एमालेसँग एकता भएको थियो । एमाले र माओवादीबीचको एकता भई बनेको नेकपा विभाजन भएपछि थापा ओलीतिर लागे । त्यसबेला बादलसँगै एकतामा आएका मणि थापाले पनि ओलीलाई साथ दिएका छन् । एमालेसँगको एकतामा रामबहादुर थापा नेकपाको नौ सदस्यीय सचिवालयमा परेका थिए ।

थापा २०७४ को संघीय चुनावमा चितवनबाट प्रत्यक्ष लड्न चाहेका थिए । तर, तत्कालीन वामगठबन्धनको टिकट वितरणमा दाहाल र थापा एउटै जिल्लामा चुनाव लड्न सम्भव नभएपछि राष्ट्रियसभा गएका थिए । यसले दाहाल–थापाबीच केही मनमुटाव बनेको थियो । तर, दोस्रो संविधानसभामा भने वैद्य–थापाले दाहाल नेतृत्वको माओवादीलाई हराउन भूमिका खेलेको आरोप थियो । थापा आफैंले पनि सांकेतिक मतपेटिकालाई रत्नपार्कमा घनले हानेका थिए । अहिले भने उनी चुनावका पक्षपाती भएर निस्केका छन् ।

तत्कालीन एकीकृत माओवादीको मोहन वैद्यको समूहले २०६९ असार २ देखि ४ सम्म बौद्धमा राष्ट्रिय भेला गरी ५ असारमा नेकपा–माओवादी पार्टी घोषणा गरेको थियो । रामबहादुर थापा, देव गुरुङ, सिपी गजुरेल, पम्फा भूसाललगायतका नेताहरूलाई साथमा लिएर वैद्यले पार्टी गठन गरेका थिए ।

माओवादीको मूल नेतृत्व नवसंशोधनवादी भएको आरोप लगाउँदै वैद्य र थापा अलग भएका थिए । शान्ति प्रक्रियापछि पार्टीमा दाहालको वर्चश्व थापाले मन पराएका थिएनन् । धोविघाट मोर्चामा थापाले वैद्य र बाबुराम भट्टराईलाई साथ दिएका थिए ।

भारतीय लाहुरे कर्णबहादुरका छोरा थापा र सामान्य किसान परिवारमा कास्कीको ढिकुरपोखरीमा जन्मेका दाहाल राजनीतिमा समकक्षीजस्तै हुन् । हिजोसम्म थापाका लागि दाहाल कमान्डर बने । तर, आज थापाका कमान्डर ओली भएका छन् । दाहाल र वैद्यलाई जस्तै थापाले ढिलोचाँडो ओलीको पनि साथ छोड्छन् कि ओली–थापा सम्बन्ध उदारणीय बन्छ, यसको परिणाम केही समयपछि देखिने छ। आजकाे कान्तिपुरमा खबर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्