काठमाडौं। नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ सुरु गरेको छ। प्राधिकरणले लोडसेडिङ गर्ने सम्बन्धि कूनै सूचना तथा जानकारी औपचारिक रुपमा सार्वजनिक नगरेपनि बत्ती दैनिक अवरुद्द हुनुले प्राधिकरणले अघोषित लोडसेडिङ सुरु गरेको होकि भन्ने अनुमान सर्वसाधारणले गरेका छन्।
पछिल्लो केही दिनयता दैनिक बिजुलीको लाइन जान थालेपछि आम सर्वसाधारण नागरिकले फेरि लोडसेडिङ भएको होकि भन्ने आशंका गरेका हुन्। पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बत्ती निभ्न थालेको छ।
पछिल्लो केही दिन यता काठमाडौंको मैतीदेवी, घट्टेकुलो, ज्ञानेश्वर लगायतका ठाउँहरुमा रातिको समय बत्ती जान थालेको छ। करिब ८ बजे बन्द हुने लाइन ९ बजे फेरि आउन थालेको छ। केही दिन कुनै प्राविधिक कारणले लाइन गएको हुन सक्ने भएको भनेर बुझेका स्थानीयहरुले दैनिक बत्ती जान थालेपछि लोडसेडिङ फेरि सुरु भएको अनुमान गरेका हुन्।
प्राधिकरण भने प्राविधिक कारणले बत्ती गएको हुन सक्ने बताउँछ। प्राधिकरणकी सूचना अधिकारी लिला अर्यालका अनुसार केही दिन मैतीदेवी घट्टेकुलोको ट्रान्सफर्मरमा केही समस्या देखिएकोले बत्ती गएको बताइन्। ‘त्यो क्षेत्रमा केही प्राविधिक समस्या थियो, यसलाई लोडसेडिङ नै भन्न मिल्दैन,’ उनले भनिन्।
चुहावट बढ्यो
यस वर्ष विद्युत चुहावट पनि बढेको छ। गत ४ वर्षदेखि घट्दै आएको विद्युत चुहावट चालु आर्थिक वर्षमा बढ्न थालेको तथ्यांकले देखाउँछ। चालु आवको तथ्यांकअनुसार गत असोजमा प्राधिकरणको प्रणालीबाट वितरण लाइनतर्फ १४.२९ प्रतिशत विद्युत चुहावट भएको छ। यो गत वर्षको असोजभन्दा २.३१ प्रतिशत बढी हो। गत वर्षको असोजमा वितरण लाइनतर्फको चुहावट ११.९८ प्रतिशत थियो।



लोकपाटी न्यूज