चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक उपकरण भित्रिएका छन्। बिरामीको उपचारमा सघाउने ती उपकरण भित्रिएसँगै सेवा प्रभावकारी हुने देखिएको हो।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार आधुनिक माइक्रोस्कोप, इबस र लेजर सर्जरी उपकरण भित्रिएका हुन्। उनका अनुसार आधुनिक माइक्रोस्कोपले आँखाले देख्न नसक्ने सानाभन्दा साना शल्यक्रिया गर्न सहज हुनेछ। केही दिनअघिबाट सञ्चालनमा आएको यो उपकरण एक करोड ५० लाखमा खरिद गरिएको हो।
यसैगरी इबसले मुखबाट पाइप हालेर शरीरको भित्री भागलाई हेर्न मिल्छ। उनका अनुसार यसले अल्टासाउण्डसमेत काम गर्दछ। शरीरका भित्री भागको फोटो खिचेर देखाउने हुँदा उपचारमा सहज हुने गौतमको भनाइ छ। तीन करोडको लागतमा उक्त उपकरण खरीद गरी जडान गरिएको हो।
लेजर सर्जरीले शरीरको बाहिरी भाग नचिरेर नै शल्यक्रिया गर्न सकिन्छ। गौतमका अनुसार यसले भित्री भागमा तोकिएको ठाउँमा गएर रे मार्फत अनावश्यक वस्तु काट्न मिल्छ। मुख्यरुपमा घाँटीको स्वरयन्त्रको क्यान्सर उपचारमा यो प्रविधि प्रभावकारी हुने उनले बताए। तीन करोडमा खरीद गरी जडान गरिएको यो उपकरण केही दिनमै सञ्चालनमा आउँदै छ। लेजर सर्जरीको प्रयोग गरी शल्यक्रिया गरेका बिरामी अस्पतालमा लामो समय बस्नुपर्दैन। बाहिरी घाउ नहुने भएकाले छिटो निको हुने डा. गौतमको भनाइ छ। यसबाट बर्सेनि ५० जनाभन्दा बढी प्रत्यक्ष लाभान्वित हुने अस्पतालले जनाएको छ।
उपकरणको अभावमा बिरामी उपचारका लागि भारत जानुपर्ने बाध्यता थियो। यस्तै अस्पतालले विद्युतीय प्रविधिबाट भुक्तानी सेवा सुरु गरेको छ। व्यवस्थित काउन्टर बनाएर भुक्तानीका लागि लामो समय लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको गौतमले जानकारी दिए। जसले गर्दा बिरामी र आफन्त लाभान्वित भएका छन्।
अस्पतालले पछिल्लो समय आकस्मिक कक्ष व्यवस्थित बनाएको जनाएको छ। कोरोना संक्रमणका कारण बिरामीको संख्या केही घटेको भएपछि पछिल्ला दिनमा पूर्ववत अवस्थामा बिरामी आउन थालेका छन्। बिगतमा बिरामीले व्यहोर्नु परेका झन्झटमुक्त गराएर गुणस्तरीय उपचारका लागि आफू लागिपरेको गौतमले बताए। अस्पतालमा गत वर्ष एक लाख ४५ हजार ७७६ जनाले सेवा लिएका थिए। यहाँ नेपाल र छिमेकी देश भारतबाट क्यान्सरको उपचार गर्न बिरामी आउने गर्दछन्। रासस



लोकपाटी न्यूज

