गत वर्षको तुलनामा यो वर्ष व्यापार घाटामा कमी आएको छ। चालु आर्थिक वर्षको पाँचौ महिनामा नेपालको व्यापार घाटा गत वर्षको तुलनामा १०.९१ प्रतिशतले घटेको छ।
मंंसिर सम्ममा गत वर्षको तुलनामा आयात ९.५९ प्रतिशतले घटेको छ भने निर्यात ५.१२ प्रतिशतले बढेको छ। आयात घटेर निर्यात बढ्दै जाँदा बैदेशिक ब्यापारमा बेहोर्दै आएको नोक्सानी केही कम हुँदै गएको हो।
मंसिर सम्ममा कुल ५ खर्ब २५ अर्ब रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ भने ५० अर्ब रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ।
पछिल्लो समय नेपालको बैदेशिक व्यापार पनि घट्दै गएको छ। गत वर्षको मंसिर महिनाको तुुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैदेशिक व्यापार ८.४८ प्रतिशतले घटेको छ।
यस अवधिमा निर्यातमा सबैभन्दा ठूलो हिस्सा सोयाविनको तेलको रहेको छ। यस अवधिमा तेलको मात्रै १३ अर्ब ५० करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको छ। त्यस्तै ३ अर्ब १० करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ भने ३ अर्ब ७ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ।
आयातमा सबैभन्दा ठूलो हिस्सा डिजेलको रहेको छ। यस अवधिमा २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ।



लोकपाटी न्यूज

