चरिकोट डिवाट्स आयोजना कार्यान्वयनका लागि सहमति तथा वित्तिय सम्झौंता पत्रमा हस्ताक्षर

dolakha samjhauta
लोकपाटी न्यूज

काठमाडौं। दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा पानी तथा ढल व्यवस्थापनका लागि चरिकोट डिवाट्स आयोजना कार्यान्वयन सहमति तथा वित्तिय सम्झौंता पत्रमा हस्ताक्षर गरिएको छ।

बुधबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको उपस्थितिमा भिमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी र सहरी खानेपानी तथा सरसफाई आयोजना व्यवस्थापन कार्यालयका निर्देशक रामकुमार श्रेष्ठबीच सो आयोजना कार्यान्वयन सम्बन्धि सहमति तथा वित्तिय सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

चरिकोट बजारसहित भिमेश्वर नगरपालिकाको वडा नम्बर ३, ४ र ६ मा रहेको बजार क्षेत्रमा प्रशोधन प्रणालीमार्फत् खानेपानी तथा ढल व्यवस्थापनका लागि एशीयाली विकास बैंकको ऋण सहायतामा सो आयोजना निर्माणका लागि आयोजना कार्यान्वयन सहमति तथा वित्तिय सम्झौंता गरिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ। सो आयोजनाको कूल लागत ९१ करोड ५१ लाख ३६ हजार रुपैंँया रहेको छ भने त्यसको कूल लागतको १५प्रतिशत स्थानीयतहले व्यहोर्नु पर्नेछ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले हिमाली जिल्लामा नेपालमै पहिलो पटक संचालनमा ल्याइएको सो आयोजना नमूना आयोजनाको रुपमा अघि बढने विश्वास व्यक्त गर्नु गरे। उनले भिमेश्वर नगरपालिका बजार क्षेत्रको खानेपानी तथा ढल व्यवस्थापनका लागि संचालनमा आउने सो आयोजना राष्ट्रकै नमूना आयोजना भएकाले त्यसलाई समयमै सम्पन्न गर्न भिमेश्वर नगरपालिका र आयोजना कार्यान्वय कार्यालयलाई आग्रह गरे।

बागमती प्रदेश सभा सदस्य पशुपति चौंलागाईँले सो आयोजना सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। भिमेश्वर नगरपालिकाका मेयर केसीले नगरकै गौरवको आयोजना संचालनका लागि पहल गरी दिएकोमा सञ्चारमन्त्री गुरुङप्रति आभार व्यक्त गरेका थिए भने आयोजना कार्यान्वयन कार्यालयका निर्देशक श्रेष्ठले सो आयोजना सम्पन्न गर्न स्थानीय जनप्रतिनिधिहरुले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबलबहादुर पाण्डे, भिमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, संचारमन्त्री गुरुङका सञ्चार विज्ञ राजेन्द्र मानन्धर लगायतको उपस्थिति रहेको थियो।हिमाली जिल्लामध्ये दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा यो आयोजना पहिलो पटक संचालनमा ल्याइएको दावी गरिएको छ। सो आयोजना संरचना निर्माणका लागि आवश्यक स्थान लगायतका व्यवस्था सरोकारवालाहरुको सहमतिमा भिमेश्वर नगरपालिका आफैंले गर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्