काठमाडौं। मंगलबार बिहान उपलब्ध केन्द्रीय सदस्यहरुको भेला बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसीरमा आफ्नो समूहको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ।
नेकपाबाट औपचारिक रुपमै अलग भएको ओली समूहले विकसित राजनीतिक परिस्थितिका बारेमा देशव्यापी प्रशिक्षण चलाउने भएको छ। ओली समूहले सातै प्रदेशमा प्रशिक्षक चलाउनका लागि नेताहरुलाई जिम्मेवारी तोकेको छ। प्रशिक्षकहरुले सम्बन्धित प्रदेशभित्र रहेका केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिनेछन्।
ओली समूहले सुदूरपश्चिम प्रदेशमा उद्योगमन्त्री लेखराज भट्ट, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेताहरु कर्णबहादुर थापा र डा. विन्दा पाण्डेले प्रशिक्षण दिनेछन्। प्रशिक्षणमा सुदूरपश्चिम प्रदेशभित्रका महाधिवेशन आयोजक समितिका सदस्यहरु सहभागी हुनेछन्।
त्यसैगरि कर्णाली प्रदेशमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेताहरु छविलाल विश्वकर्मा, यामलाल कंडेल र सुजिता शाक्यलाई प्रशिक्षकको रुपमा तोकिएको छ।
लुम्बिनी प्रदेशमा प्रशिक्षण सञ्चालनको मुख्य जिम्मेवारी महासचिव विष्णु पौडेलले पाएका छन्। पौडेलका साथै शंकर पोखरेल, मणि थापा र गोमा देवकोटाले लुम्बिनी प्रदेशको भेलालाई सम्वोधन गर्नेछन्।
गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेलल प्रशिक्षण दिनेछन् भने वागमती प्रदेशमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्यालले प्रशिक्षण दिनेछन्।
प्रदेश नम्वर २ मा ईश्वर पोखरेललाई प्रमुख प्रशिक्षक तोकिएको छ। यसअघि प्रचण्ड–नेपालतिर लागेको चर्चा गरिएका नेता रघुवीर महासेठ र नेताहरु सत्यनारायण मण्डल, जुलीकुमारी महतोले प्रशिक्षण दिनेछन्।
त्यसैगरि प्रदेश नं.–१ मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फेले प्रशिक्षण दिने जिम्मेवारी तय भएको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।



लोकपाटी न्यूज

