काठमाडौं। निजी क्षेत्रका दुई ठूला र पुराना बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा मर्ज भई नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने अन्तिम तयारीमा जुटेका छन्।
बैंकिङ क्षेत्रमा देखिएको तीब्र प्रतिस्पर्धाको सामना गर्न र राष्ट्र बैंकको दबाबपछि यसपटक भने यी दुई बैंक आपसमा मर्ज हुनेगरी तयारी गरिरहेको छन्। सबै कुरा सामान्य गतिमा अगाडि बढेमा पुस महिनाभित्रै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरका लागि औपचारिक सहमति हुनेछ। सहमति गरेपछि पछाडि फर्कनु नपरोस् भनेर दुवै समूह अहिले सम्पूर्ण सम्पति तथा दायित्व (डीडीए) को मूल्यांकन गराउदै छन्। अहिले यि बैंकहरुको डीडीएका काम टीआर उपाध्यायको एकाउन्टिङ फर्मले गरिरहेको छ।
यसअघि पनि मर्जरका लागी यि बैंकहरुबिच विभिन्न पटक वार्ता र छलफल भएको थियो। तर सेयर नियन्त्रण गर्न सक्ने र पारिवारीक सम्बन्ध गाँसिएका निर्णायक सेयरधनीहरुको टकरावका कारण यसअघिका वार्ताहरु असफल भएको थिए। मर्जरपछि बन्ने बैंक नेपालको सबैभन्दा ठुलो वासलत भएको बैंक बन्ने छ। त्यसपछि अरु बैंकलाई पनि मर्जरका लागी दवाव पर्ने बैंकरहरुको अनुमान छ। अहिले दुबै बैंक कर्मचारी व्यवस्थापन लगायत आन्तरिक सफ्टवेयर कुन प्रयोग गर्ने लगायत समेतको छलफलमा जुटेका छन्।
दुबै पक्षको सहमतीमा अहिलेको डीडीए भएको हो। यो प्रारम्भिक डीडीए हो। डीडीएमा धेरै ठुलो अन्तर नदेखिएमा बैंकहरु सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ः१ को आधारमा मर्जर हुने छन्। राष्ट्र बैंकसंग छलफल र सम्पर्क स्थापित गरी दुबै बैंकले मर्जरको निर्णय गरेका हुन्। यो निर्णयबाट राष्ट्र बैक पनि उत्साहित भएको र मर्जर सफल बनाउन आफूले सक्ने सहयोग गर्ने र ब्यवहारिक कठिनाइहरु आए त्यसलाई फुकाउन मद्दत गर्ने दुवै बैंकका प्रतिनिधिहरुलाई भनेको छ।
मर्जपछि नेपाल हिमालयन इन्भेष्टमेन्ट बैंक देशकै सबैभन्दा ठूलो बैंक बन्नेछ। असोज मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ रहेको छ । बैंकको रिजर्बमा रिजर्बमा १२ अर्ब १ करोड ५४ लाख २१ हजार छ। यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकसँग १ खर्ब ८४ अर्ब ७३ करोड ४२ लाख ७१ हजार रुपैयाँ निक्षेप छ। कर्जा १ खर्ब ३९ अर्ब २ करोड २४ लाख ५१ हजार रुपैयाँ रहेको छ।
मर्जरपछि बैंकको अध्यक्ष पृथ्वीवहादुर पाँडे र सीइओ अशोक राणा रहने छन् भने ज्योति पाण्डे डेपुटी सीइओ रहने बताइएको छ। इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे हिमालय शमशेर राणाका ज्वाँई हुन्। सीइओ राणाका भिनाजू हुन्।
पाण्डेले यसबारेमा केहि प्रतिक्रिया दिइसकेका छैनन्। स्रोतका अनुसार, उनले मर्जर सफल बनाउन आफूले सहयोग गर्ने बचन सञ्चालक समितिलाई दिएका छन्। सोझै सञ्चालक समितिलाई रिपोर्टिङ गर्ने गरी सम्मानजनक पोर्टफोलियो दिए मात्र पाण्डे बैंकमा अडिन सक्ने उनी निकटहरु बताउँछन्।
हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकका प्रभावशाली लगानीकर्ताको पारिवारिक सम्बन्ध भएका कारण यी दुई बैंक आपसमा गाभिने चर्चा लामो समयदेखि हुँदै आएको थियो। र, मर्जरमा जाँदा इन्भेष्टमेन्टको पहिलो रोजाइ हिमालयन हो भने हिमालयनको पहिलो रोजाइ पनि इन्भेष्टमेन्ट बैंक नै हो।
शाखा सञ्जाल विस्तारमा दुबै बैंकहरु सुस्त देखिएका थिए। मर्जपछिको बैंकको शाखा संख्या १ सय ५० पुग्नेछ। इन्भेष्टमेन्ट बैंकको समग्र पोर्टफोलियोभन्दा हिमालयनको सानो छ। तर हिमालयनको सञ्चालन खर्च बढी छ।
यी दुई बैकको मर्जपछि अन्य बैंकहरुलाई पनि मर्जको दवाव पर्नेछ। नबिल, ग्लोबल आइएमइ, एभरेष्ट र एनआइसी एसिया बैंकलाई पहिलो दबाब पर्नेछ। अन्य बैंकहरु पनि मर्जरमा जानेछन्। नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकबीच तीव्र प्रतिस्पर्धा नै छ। पाँच वर्षअघिसम्म निकै पछाडि रहेको एनआइसी एसियाले तीव्र रफ्तार पक्डिएर दुवै बैंकलाई ब्यापारमा उछिनेपछि नबिल र इन्भेष्टमेन्टको प्रतिस्पर्धा केही सेलाएको छ।
राष्ट्र बैंक यि दुबै बैंकहरुलाई मर्जको लागी कसरत गर्दै आएको थियो। यि दुईको मर्जपछि बैंकिङ क्षेत्रमा फरक दृश्य देखा पर्ने राष्ट्रबैंकको अनुमान छ। यी दुई बैकको मर्जले पहिलेको ग्लोबल र जनताको मर्ज छायाँमा पर्नेछ भने अन्य साना बैंकहरुलाई बजारमा टिक्नका लागी मर्ज गरेर अघि बढ्न दवाव दिनेछ। जसले बैंकको संख्या घटाउन सहयोग पुर्याउने छ।



लोकपाटी न्यूज

