सडकमा भेटिएका दुई बंगलादेशी बुधबार स्वदेश फिर्ता

लोकपाटी न्यूज

काठमाडौं। चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बंगलादेशी नागरिकलाई आज बुधबार स्वदेश फर्काइँदै छ। सामाजिक संस्था मानवसेवा आश्रमले बंगलादेशी ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल) २०७२ मा सडकबाट उद्धार गरेको थियो।

पाँच वर्ष आश्रममा राखेपछि नेपालस्थित बंगलादेश राजदूतावासमार्फत् घर परिवार पहिचान भएको आश्रमका सचिव सुशीला केसीले जानकारी दिइन्। आज बुधबार उनीहरुलाई चार्टर्ड फ्लाइटमार्फत् घरमा पुनर्मिलन गराउन लागिएको उनले बताइन्।

चितवनको रामनगरबाट उद्धार गर्दा बेगमको शरीरभरि कमिलाले ढाकेको थियो। हातको घाउ कुहिएर किरा परेको थियो। घाउको गन्धले वरिपरि जानै मुस्किल थियो। विक्षिप्त अवस्थाकी बेगमलाई भरतपुर अस्पताल लगेर शल्यक्रिया गरी उपचार गरिएको र अहिले सबै समस्या समाधान भएको आश्रमले जनाएको छ। बाबुलाललाई लम्जुङको सडकमा अर्धचेत अवस्थामा फेला पारिएको थियो। अहिले उनी पनि स्वस्थ भएका छन्।

आज उनलाई परिवारमा पुनःमिलन गराउन केसी र अर्का अभियानकर्मी देवेश गुप्ता सँगै जाँदै छन्। उनीहरुलाई मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यले विदाईसमेत गरिसकेकी छन्। आश्रमले यसअघि पनि तीन बंगलादेशी नागरिकलाई परिवारमा पुनः मिलन गराइसकेको छ। हालसम्म ४८ विदेशीको परिवारमा मिलन गराइसकिएको छ। अझै झण्डै १०० विदेशी नागरिक आश्रमको संरक्षणमा छन्। त्यसमा धेरै भारतीय छन्। उनीहरुको पनि परिवार खोजेर मिलन गराउने प्रयास भइरहेको जनाइएको छ। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्