काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने कार्य असंवैधानिक भएको भन्दै नेकपाका नेताहरु सर्वोच्च अदालतका पुगेका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको तर्फबाट देव गुरुङ, भिम रावललगायतका नेताहरु सर्वोच्च पुगेका हुन्।
प्रतिनिधि सभाका ९० र राष्ट्रिय सभाका २४ सांसदको हस्ताक्षर बुझाउन नेताहरु सर्वोच्च पुगेको एक नेताले जानकारी दिए।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि भोलि बुधवार सुनुवाइ हुँदैछ। सुनुवाइको पूर्वसन्ध्यामा अदालतमा प्रमाण दिन भन्दै हस्ताक्षरसहित उनीहरू अदालत गएका हुन्। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए भने सोही कारण नेकपा विभाजन निकट पुगेको छ।
प्रधानमन्त्रीले एकलौटी रूपमा प्रतिनिधि सभाको विघटन सिफारिस गरेको र अहिले पनि संसद जीवितै रहेको भन्दै सांसदको हस्ताक्षरसहित नेताहरु अदालत पुगेका हुन्।
बबरमहलस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक चलिरहेकै बेला रावल र गुरुङ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत गएका हुन।



लोकपाटी न्यूज

