ओलीको भेलामा टोपबहादुर र मणि थापा

Top bdr Mani thapa
लोकपाटी न्यूज

काठमाडौं। नेकपा विभाजनको अन्तिम तयारी भइरहेका बेला पूर्वमाओवादी समूहका तीन स्थायी कमिटी सदस्य केपी ओली पक्षमा खुलेका छन्। बालुवाटारमा ओली समूहका केन्द्रीय सदस्यहरुको भेला शुरु हुन लागेको छ।

बैठकमा सहभागी हुन पूर्व माओवादी पक्षका नेताहरु टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणी थापा बालुवाटार पुगेका छन्। लेखराज पछिल्लो समय ओलीसँगै थिए। रायमाझी र थापा पनि ओलीनिकट रहेर सञ्चार माध्यममा आफ्ना अभिव्यक्ति दिँँदै आएका थिए।

रायमाझी र थापा नेकपाका विवादित नेता मानिन्छन्। रायमाझी नेकपामा कुनै पनि पकड नभएका प्राविधिक नेता हुन्। विचार, राजनीति, अध्ययन र छलफल नरुचाउने रायमाझी आर्थिक मामिलामा भने सधै विवादमा तानिने गरेका छन्। उर्जामन्त्री हुँदा करोड रुपैयाँ हप्ता उठाएको भन्दै उनीमाथि अभियोग लाग्ने गरेको छ।

रायमाझीले विद्युत प्राधिकरणका तात्कालीन कार्यकारी प्रमुख मुकेश काफ्लेसँग मिलेर देशमा लोडसेडिङ गराउने भूमिका खेलेका थिए। ठूला घरानाहरुलाई विद्युतको महशुल छुट गरेर त्यसवापत मोटो कमिसन लिने गरेको भन्दै उनको चर्को आलोचना भएको थियो।

त्यसैगरि ओली समूहमा खुलेका अर्का नेता मणि थापा युद्धकालका भगुवा नेताका रुपमा परिचित छन्। २०६१ सालमा युद्धबाट भागेर पलायन भएका उनी २०७३ मा रामबहादुर थापाहरु प्रचण्डसँँग एकतामा आउँदा माओवादी केन्द्रमा मिसिएका थिए। संगठनमा एक जना पनि आफ्नो मान्छे नभएका थापालाई एकताका बेला वरिष्ठता मिचेर स्थायी समितिमा ल्याइएको भन्दै आलोचना भएको थियो।

थापालाई पछिल्लो समय प्रधानमन्त्री ओलीले मोटो रकम दिएर आफ्नो कित्तामा ल्याएको भन्दै आलोचना हुने गरेको छ। ओलीले थापालाई कोटेश्वरमा घर बनाउन सहयोग गरेको र श्रीमतिलाई जागिर लगाइदिएको भन्दै उनीनिकटकै नेताहरुले आलोचना गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्