काठमाडौं ६ पुस, नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको पहिलो ४ महिनामा कुल वस्तु निर्यात १०.८प्रतिशतले बढेर ४० अर्ब २० करोड रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक गरेको छ।
अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु निर्यात २३.९ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १४.९ प्रतिशत र ६.९ प्रतिशतले निर्यात वृद्धि भएको छ।
तर, चीनतर्फ भने ५९.२ प्रतिशतले निर्यात घटेको छ ।
वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो, चाउचाउ, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात बढेको छ । पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छाला लगायतका वस्तुको निर्यात घटेको छ ।
यता, आर्थिक वर्ष ७७—७८ को पहिलो ४ महिनामा कुल वस्तु आयात १०.६प्रतिशतले घटेर ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६.९ प्रतिशतले घटेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.१, २५.० र १९.८ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, उपचारका साधन र पाटपुर्जा लगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, हवाईजहाज तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।



लोकपाटी न्यूज

