काठमाडौं। कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्। एक महिनाभन्दा लामो समयको अस्पताल बसाइपछि पूर्वमन्त्री विक घर फर्किएका हुन्। स्वास्थ्यमा सुधार भएपछि चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको पारिवारिक स्रोतले जनाएको छ।
कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका कांग्रेस नेता विश्वकर्मा श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ८ गते वीर अस्पताल भर्ना भएका थिए। तर उनको स्वास्थ्यमा थप समस्या देखिएपछि कात्तिक ११ गते काठमाडौंको ग्रान्डी अस्पतालमा रिफर गरिएको थियो।
फोक्सोमा निमोनिया भएपछि करिब एक साता भेन्टिलेटरमा राखेर उनको उपचार भएको थियो। विश्वकर्माको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि कांग्रेसले सरकारलाई उपचारमा गम्भीर बन्न ध्यानाकर्षण गराएको थियो।
उपचारकै क्रममा उनको कोरोना रिपोर्ट नेगेटिभ आए पनि स्वास्थ्यमा सुधार नआएकाले लामो समय अस्पताल बस्नु परेको नेता विश्वकर्माका स्वकीय सचिव टेकबहादुर विकले बताए। नेता विकलाई चिकित्सकले केही समय घरमै आराम गर्न सुझाव दिएका छन्।



लोकपाटी न्यूज

