चन्द्र ढकालको व्यवसायिक यात्रा : बाग्लुङको अमलाचौरदेखि महासंघको नेतृत्वसम्म

pic 1
लोकपाटी न्यूज

काठमाडौं। भनिन्छ– बिहानीले दिनको सङ्केत गर्छ। नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको ४ः३० बजेको समय सूचक घण्टी बजायो र राजधानीवासीलाई नयाँ बिहानीको सन्देश दियो।

चराहरु ब्युँझिएर बास बसेको ठाउँबाट चलमलाउन थाले, उड्न थाले। नयाँ दिनका लागि नवीन आशाहरु खोज्दै मानिसहरुले विस्तारै ओछ्यान छाडेर निस्किने तयारी गर्न थाले। कति त बिहानको हिँडाइ ९मर्निङ वाक० को बाटो तयगर्ने तरखरमा थिए। यता राजधानी काठमाडौंको कमदलादिस्थित प्रज्ञा प्रतिष्ठनमा भने रातपछिको बिहान हुन पाएको थिएन, रातिदेखिकै रौनक थियो नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको। बिहानको ४ः५० बजे निर्वाचन समितिले घोषणा ग¥यो– ‘महासंघको वरिष्ठ उपाध्यक्ष पदमा व्यवसायी चन्दप्रसाद ढकाल विजयी हुनुभएको छ।

लामो दौडको घोडा जस्तै, अनेकन हण्डर र ठक्कर खाएर सफलताको उचाइमा पुगेका व्यवसायी ढकालका लागि आजको जीत सफलताको उचाइको अर्को एउटा खुड्किलो बनेर खडा भयो। अनि हरेक बिहानीपख नयाँ आशाहरुको खोजीमा हिँड्ने मानिसजस्तै उनको यो बिहानीको जितले पनि नेपालको उद्योग, व्यवसायका क्षेत्रमा नयाँ आशाहरुको सञ्चार गर्नसक्ने आशा जन्मायो।

त्यसैले यस यात्राले ‘वेटिङ पे्रसिडेण्ड’ अर्थात्, नेपाल उद्योग वाणिज्य महासङ्घको २०औँ अध्यक्षका लागि उनको मार्ग प्रशस्त भएको छ, उनका लागि। महासंघको विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार नै हालका अध्यक्ष भवानी राणालाई व्यवसायी शेखर गोल्छाले विस्थापित गर्न लागेका छन्।

एउटा सानो पसलबाट उठेर नेपालको व्यावसायिक क्षेत्रमा नाम र दाम कमाउन सक्ने व्यक्तिका रुपमा ढकाल अहिले पनि आम नेपालीका लागिसमेत प्रेरणाको स्रोत बनेका छन्। त्यसैले नेपाली उद्यमशीलताका क्षत्रेमा यो नाम नयाँ होइन। बाग्लुङको अमलाचौरबाट राजधानी छिरेका ढकालले यो हदसम्मको सफलता हात लाग्नसक्ने हुनका लागि उनले भोगेका र व्यहोरेको सङ्घर्षका कथा भने त्यति सजिला छैनन्, निकै मर्मस्पर्शी छन्। देशको उद्यमशीलताका क्षेत्रका हरेक व्यक्ति उनका सङ्घर्षका कथाहरु पढेकै हुनुपर्छ।

“प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिए पनि परिणाम घोषणासँगै अब प्यानल सकिएको छ। म सबै व्यवसायीको हकहितमा नै काम गर्ने हो”, निर्वाचन समितिले वरिष्ठ उपाध्यक्षमा विजयी भएको घोषणा गरेपछि त्यहाँ उपस्थित सञ्चारकर्मीमाझ उनले भने, “मैले पहिला पनि भनेको थिएँ, हामीहरुको पक्षविपक्ष भनेको चुनावको दिनसम्म मात्र हो, आजदेखि अब महासङ्घको कार्यसमिति एउटै बनेको छ र त्यसले त्यो सम्पूर्ण निजी क्षेत्रको आवाजलाई मुखरितले बनाउने काम गर्ने हो।” उनले आफ्नो जीत नेपालका सम्पूर्ण व्यवसायीको प्रतिनिधिका रुपमा भएको बताए।

महासङ्घको वरिष्ठ उपाध्यक्षलगायतका पदमा सर्वसम्मति हुन नसकेपछि ढकालले एउटा समूहको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिएका थिए। देशभरका व्यवसायीले उनलाई विश्वास मात्रै गरेनन् आगामी कार्यकालका लागि आफनो नेतृत्वका रुपमा चयन गरे। कोरोना महामारीका कारण उद्योग व्यवसाय चौपट भएको छ। हजारौँको रोजीरोटी खोसिएको छ।

चौतर्फी समस्याका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्थामा छन्। यस्तो विषम अवस्थामा निजी क्षेत्रलाई आशावादी बनाउने, उनीहरुलाई आर्थिक क्रियाकलापमा अगाडि बढाउन प्रेरित गर्ने क्षमता सीमित मानिसमा मात्रै हुन्छ। त्यही सिमित मानिसमध्येका एक हुन् ढकाल। उनको आफ्नै सङ्घर्षले पनि सुखमा नमात्तिने र दुःखमा नआत्तिन सिकाएको छ। धैर्य नै सफलताको सूत्र हो भन्ने प्रेरणा उनीबाट सिक्न सकिन्छ।

सरकारले अगाडि सारेको आर्थिक समृद्धिको सङ्कल्पलाई समेत कोरोनाले छोपिदिएको छ। यस्तो बेला राज्यका तीनवटा आर्थिक खम्बामध्येको एक निजी क्षेत्रले पाएको नेतृत्वसमेत आफैँमा सबल छ। महासङ्घका अध्यक्ष हुन लागेका शेखर गोल्छा र दोस्रो वरियाताका ढकाल नेपालको उद्योग व्यवसाय क्षेत्रका चिनिएका नाम हुन्। त्यसैले स्वदेशी पूँजीको विस्तार र मुलुकमा उद्यमशीलताको विकासका लागि अहिलेको सङ्कटले यही सबल नेतृत्व रोज्यो भन्न सकिन्छ।

ढकालको उद्यमशीलताको यात्रा धेरै पुरानो छैन, करिब साढे दुई दशकको मात्र हो। छोटो समयमा देशको उद्यम, व्यवसायमा प्राप्त भएको यो सफलताको रहस्य के हो ? उनको विगत जान्नेहरुले नै र पछिल्ला केही वर्षहरुमा सञ्चारमाध्यमहरुले सोध्ने प्रश्न हो यो। उनको सदैव स्वाभाविक उत्तर रहने गर्छ– लगाव, इमान्दारिता र परिश्रम। ढकाल स्वीकान्छन्– मेरो सफलताको सबैभन्दा दरिलो टेको भनेको लगाव र परिश्रम नै हो।

अहिले उनी आइएमई समूह, ग्लोबल आइएमई बैँक, चन्द्रागिरि हिल्स लिमिटेडलगायतका नेपालमा परिचित कैयौँ यस्तै अरु व्यवसायको अध्यक्ष हुन्। अरु सामाजिक सङ्घसंस्थाको संलग्नता त छँदैछ। नेपालमा बैंक तथा वित्तीय, सेवालगायत जलविद्युत्का क्षेत्रमा पनि उनीहरुको उपस्थिति रहेको छ।

नेपालको व्यवसायमा बहुआयामिक क्षेत्र समेट्दै अघि बढेका उनी सबैलाई परिश्रम नै गर्न सिकाउँछन् । भन्छन्– संसारको अरु भूगोलका तुलनामा हाम्रो माटो धेरै बढी मलिलो छ। यहाँ जे रोपे पनि सुन फल्छ, तर यसले मेहनेतको अपेक्षा भने गर्छ। मत भन्छु, हामी आफँै माटो रोपेर सुन फलाउन सक्छौँ, अन्त कतै भौँतारिनु पर्दैन। हो, यस्तै सफलता र मेहनतले ढकाल अब एक उद्यमी मात्र होइन कि निजी क्षेत्रलाई उद्यममैत्री नीति निर्माणका लागि देशको समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्ने साझा र छाता संस्थाको नेतृत्वमा पुगेका छन्।

“आफूले यस देशमा एउटा सानो पसलदेखि ठूला कर्पोरेट हाउसम्मको नेतृत्व गरेकाले देशका सानादेखि मझौला हुँदै ठूला व्यवसायका समस्या र आवश्यकताको बारेमा म अरुभन्दा बढी नै जानकार छु जस्तो लाग्छ अब मैले यीनै समस्याहरुको पैरवी गर्ने हो, मुलुकको समृद्धिको लागि राज्य र निजी क्षेत्रको सहकार्यलाई बढावा दिने हो”– आइतबार बिहान संक्षिप्त प्रतिक्रिया दिए। (रासस रिपोर्टको सम्पादित अंश)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्