पार्टीको विवादमा घिउ थप्ने काम नगरौँः प्रदीप ज्ञवाली

Pradeep_gyawali
लोकपाटी न्यूज

गुल्मी। परराष्ट्रमन्त्री एवं नेकपा स्थायी समिति सदस्य प्रदीपकुमार ज्ञवालीले पार्टीमा देखिएको समस्यालाई थप जटिल बनाउने गरी अभिव्यक्तिहरू नदिन आग्रह गरेका छन्। गुल्मीमा आयोजित एक कार्यक्रममा मन्त्री ज्ञवालीले एकतालाई संकटमा पार्ने गरी गैरराजनीतिक बहस नगर्न आग्रह गरेका हुन्।

पार्टीमा देखिएको विवादमा नथप्न आग्रह गर्दै उनले बरु विवाद समाधानमा भूमिका खेल्न अनुरोध गरे। विवादमा पानी राख्न सके नयाँ आधारमा नयाँ एकता कायम हुने उनले विश्वास व्यक्त गरे। पार्टीमा देखिएको विवाद समाधान बैठकको माध्यमबाट हुने ज्ञवालीले बताए।

उनले नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा गुट-उपगुट बनाएर एकतामा असर पर्ने गरी अनावश्यक रूपमा फेसबुक र सामाजिक सञ्जालहरू नरंग्याउन पनि सुझाए। ज्ञवालीले भ्रष्टाचारीहरूलाई पाता फर्काएर जेल हाल्ने बताए। ‘वर्तमान सरकारले भ्रष्टाचार गर्ने आफ्ना वा अरू जो कोहीलाई पनि जेल हाल्छ,’ उनले भने।

नेकपाका नेता गोकर्ण विष्टले कुनै सीमित नेताहरूको चाहानामा पार्टी विभाजन नहुने बताए। पार्टीमा देखिएको विवाद समाधान भएर पार्टी एक ढिक्का हुने उनको भनाई थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्