काठमाडौं। जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौं आउने भएका छन्।
भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा आउन लागेका रक्षामन्त्री फेङ्हेले चिनियाँ दूतावासद्वारा आयोजना हुने द्विदेशीय सहयोग-समन्वयको बृहत् कार्यक्रममा सहभागिता जनाउने भएका छन्।
नेपाल-चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री फेङ्हेको भ्रमण हुन लागेको र यसले आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले शनिबार बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ। फेङ्हे आइतबार अपराह्न काठमाडौंबाट ढाकाका लागि प्रस्थान गर्नेछन्।
भारतीय विदेशमन्त्री हर्षवर्धन श्रृङ्गला नेपालको दुई दिने भ्रमण सकारए फर्किए लगत्तै उत्तरी छिमेकी राष्ट्रबाट उच्च राजनीतिक भ्रमण हुन लागेको हो। नेपाल कम्युनिष्ट पार्टी भित्र विवाद बढ्दै गएको अवस्थामा फेङ्हेको भ्रमणलाई महत्वका साथ हेरिएको छ।



लोकपाटी न्यूज

