एजेन्सी। विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको बिहीबार अन्त्येष्टी गरिएको छ। फुटबल प्रशंसकबीच ‘भगवान’को उपमा पाएका म्याराडोनाको मृत्युको खबरले संसारभरका उनको प्रशंसक दुःखी भएका छन्।

तर संसारलाई रुवाएर बिदा भएका तिनै सर्वकालीक महान फुटबलरको पार्थिव शरीर भने एक निजी समारोहकाबीच ब्युनस आयर्सको चिहान घरमा अन्त्येष्टी गरिएको छ। शान, मान र आलोचनाबाट उत्तिकै घेरिएका ६० वर्षीय म्याराडोनाको गत बुधबार हृदयघातका कारण मृत्यु भएको थियो। उनको निधनको खबरलाई विश्वभर रहेका उनका फुटबल प्रशंसकहरु पत्याउन सकिरहेका छैनन र शोकमा डुबेका छन्। अर्जेन्टिनी सरकारले देशभर तीन दिने राष्ट्रिय शोक नै घोषणा गरेको छ।

बिहीबार भएको अन्त्येष्टीमा परिवारका सदस्य, आफन्त र नजिकका साथी गरी करिब दुई दर्जन मानिस सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यद्यपि, उनको कफिन लैजादै गर्दा ठूलो संख्यामा उपस्थित भएका प्रशंसकहरुले अश्रुपूर्ण आँखाका साथ अन्तिम बिदाई गरेका थिए। आँशु चुहाउँदै अधिकांश प्रशंसकहरु म्याराडोनाको कफिनतर्फ चुम्बन गर्दै गरेका दृष्य देखिन्थे।

मुलुकलाई विश्वकपको ताज पर्हियाउने राष्ट्रिय हिरो म्याराडोनाका निधनमा अर्जेन्टिनीहरु कल्पनै गर्न नसकिने शोकमा डुबेका छन्। म्याराडोनालाई अन्तिम बिदाई गर्न बाटोमा भेला भएका मानिसको भिड अत्याधिक हुँदा प्रहरीले अश्रु ग्यास र रबर बुलेट समेत प्रहार गर्नु परेको छ। राजधानीको बाहिरी क्षेत्रमा रहेको बेला भिस्टा चिहान घरमा म्याराडोनाको पार्थिव शरीर गाडिएको छ। दुई हप्ताअघि मात्र मस्तिष्कमा रगत जमेपछि शल्यक्रिया गरिएका उनको अन्ततः घरमै रहेका बेला हृदयघातबाट निधन भएको हो।




लोकपाटी न्यूज

