एजेन्सी। कोरोनाका कारण सुडानका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल महदीको बिहीबार मृत्यु भएको छ। ८४ वर्षीय महदीको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको उनको दलले जनाएको छ।
नरमपन्थी इस्लामिक नेसनल उमा पार्टीका नेता महदी तीन साताअघि कोरोना संक्रमित भएका थिए। अबुधाबीस्थित एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
अल महदीले पहिलो पटक सन् १९६६-६७ मा प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए। पटक-पटक जेल परेका उनी केही वर्ष निर्वासनमा समेत बसे। सन् १९८६ मा फेरि उनी सुडानको प्रधानमन्त्री बने। तर सन् १९८९ मा सेनाको समर्थनमा भएको ‘कुु’ मार्फत उनलाई पदबाट हटाइयो। महदीको जन्म सन् १९३५ मा ओमदुरमानमा भएको थियो।


लोकपाटी न्यूज

