काठमाडाैं। जनआन्दोलनको झल्को दिने गरी गत ४ मंसिरमा राजावादीले धनगढीमा मोटरसाइकल र्याली गरे। सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको आवरणमा र्यालीको आह्वान गरिएको भए पनि भित्री रूपमा सम्पूर्ण व्यवस्थापन हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले गरेको थियो। र्यालीमा राजावादी मात्र होइन, सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस समर्थक पनि देखिन्थे।
आयोजकले त नेकपा र कांग्रेसका समर्थक मात्र होइन, कार्यकर्तासमेत र्यालीमा सहभागी भएको दाबी गरेको छ । ‘सोचेभन्दा बढीको सहभागिता रह्यो, हामीले आह्वान मात्र गरेका हौँ, जनता स्वतस्फुर्त रूपमा सडकमा आए। अरू पार्टीका कार्यकर्ता पनि सहभागी भए,’ आयोजक समाजका संयोजक रविन्द्र कार्कीले भने।
धनगढी–अत्तरिया–धनगढीसम्म गरिएको र्यालीमा सात हजारभन्दा बढीले सहभागिता जनाएको कार्कीको दाबी छ। यो सहभागिताले अहिलेको व्यवस्था फेल भएको पुष्टि गरेको उनको भनाइ छ। ‘लोकतान्त्रिक व्यवस्था फेल भएको र जनतामा व्यवस्थाप्रति नै वितृष्णा बढेको पुष्टि र्यालीले गरेको छ,’ कार्कीले भने । प्रहरीको रिपोर्ट भने र्यालीमा दुई हजारदेखि २२ सयसम्मको सहभागिता रहेको छ। जिल्ला प्रहरी प्रमुख एसपी अनुपशमशेर जबराले र्यालीको पूर्वजानकारी दिइएको बताए।
र्यालीको तयारीमा राप्रपाका केन्द्रीय सदस्यहरू छत्र शाही, ललित नेगीसहित स्थानीय नेता–कार्यकर्ता जुटेका थिए। संंयोजक कार्की आफैँ पनि राप्रपानिकट युवा मोर्चाका प्रदेश अध्यक्ष हुन्। तर, स्वतन्त्र नागरिक र अरू पार्टीमा आबद्धहरूलाई सहभागी हुन सहज होस् भनेर पार्टीको झण्डा नबोकेको केन्द्रीय सदस्य शाहीले बताए। ‘स्वतन्त्र आयोजना देखाएर हामी ‘ब्याक ग्राउन्ड’मा बसेर खटियौँ,’ र्यालीका लागि प्रचारप्रसारको संयोजन गरेका शाहीले भने, ‘अन्य पार्टीका साथीहरूले तपाईंको पार्टीको झण्डा प्रयोग नहुने भए हामी पनि जान्छौँ भन्नुभएको थियो।’
सरकार र राजनीतिक दलका गतिविधिप्रतिको वितृष्णाका कारण पनि जनसहभागिता सोचेभन्दा बढी भएको शाहीले बताए । ‘दलहरूले गरेको गैरजिम्मेवार क्रियाकलाप र भ्रष्टाचारप्रतिको असन्तुष्टि हो यो। त्यही भएर अरू पार्टीका समर्थक पनि र्यालीमा आए,’ शाहीले भने, ‘भ्रष्टाचार अनियन्त्रित भयो, देशमा सयौँ राजाभन्दा एउटा राजा ठीक छ भन्ने मनस्थितिमा जनता पुग्न थालेका छन्।’
राजसंस्था पुनस्र्थापनाको माग गर्दै रूपन्देहीबाट थालिएको अभियान देशव्यापी हुन थालेपछि रूपन्देहीमा अझ ठूलो प्रदर्शनको तयारीमा राजावादीहरू लागेका छन्। राष्ट्रियता कमजोर भएको र भ्रष्टाचार बढेकाले देशको हितका लागि राजा र हिन्दू राष्ट्र कायम गर्न जरुरी रहेको उनीहरूको निष्कर्ष छ।
वीर गोर्खाली अभियान, शिव सेना नेपाललगायतको नामबाट गत १७ कात्तिकमा मणिग्रामदेखि बुटवलसम्म राजावादीहरूले भव्य र्याली निकालेका थिए। त्यसमा राप्रपाको पनि भित्री सहयोग थियो । त्यसबाट उत्साही राजावादीहरू र्यालीको आयोजक जनता आफैँ रहेको दाबी गरिरहेका छन्। शिव सेना नेपालका केन्द्रीय सदस्य अनिल जैसवालले अहिलेको शासन व्यवस्थाबाट जनता सन्तुष्ट नभएकाले राजसंस्था र हिन्दू राज्यका पक्षमा जनता उत्रिएको दाबी गरे। राजसंस्था पुनर्वहालीका लागि सबै राष्ट्रवादी शक्तिहरू एक ठाउँ जुटिरहेको उनको भनाइ छ।
राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग गर्दै बुधबार राजावादीले पोखरामा र्याली प्रदर्शन गरेका छन्। आयोजकविनाको प्रदर्शन भनिए पनि शिवसेना नेपालले र्याली आह्वान गरेको थियो, जसमा १८ हजार मानिस सहभागी भएको शिवसेनाका अध्यक्ष अनिल बस्नेतको दाबी छ। प्रहरीले भने हजारभन्दा बढी मोटरसाइकल र ५० भन्दा बढी कारसहितको र्याली प्रदर्शन भएको जनाएको छ।
कास्की प्रहरी प्रवक्ता डिएसपी सुभास हमालका अनुसार केही दिनअगाडि जिल्ला प्रशासनबाट पश्चिमाञ्चलवासी जनता आयोजक रहेर प्रदर्शन हुने पत्र आएको थियो। बुधबार हजारभन्दा बढी मोटरसाइकल र ५० भन्दा बढी कारसहितको र्याली निकालिएको उनले बताए। यसअनुसार तीन हजारभन्दा बढी मानिस र्यालीमा सहभागी रहेको विश्लेषण गर्न सकिन्छ।
सत्तारुढ नेकपाका कास्की अध्यक्ष कृष्ण थापाले राजावादीहरूको र्याली लोकतन्त्र ल्याउन लडेका सबैका लागि चुनौती भएको बताए। र्यालीलाई सरकारप्रतिको असन्तुष्टिका रूपमा पनि लिन सकिने उनले बताए। नयाँ पत्रिका दैनिकमा समाचार छ।



लोकपाटी न्यूज

